बिहीबार, वैशाख १३, २०८१

दिन, उज्यालो र म

रमण घिमिरे २०७८ असोज १६ गते ८:०८

भन्थेँ-
रातपछि दिन आउँछ
दिनले उज्यालो दिन्छ
बाटो देखाउँछ
गन्तव्यमा टेकाउँछ

तर दिनदिनै दिन त
दीन भएर पो आयो
बाटो खर्च छैन भन्दै
सिलबरे लोटा बजाउँदै आयो
अनि मलाई दिक्क लाग्यो
आफ्नै नियतिसँग दया लाग्यो
उसैलाई दिएँ
मैले बल्लबल्ल सल्काएको दियो
र परसम्म उसलाई हेरिरहेँ
मैले दिएको उज्यालोमा ऊ
आफ्नो बाटो पहिल्याउँदै
खोच्याउँदै हिँडिरह्यो
म भने फेरि पनि
त्यही रात ओडेर
फेरि अर्को उज्यालो दिनको प्रतीक्षा छु ।

प्रतिक्रिया