शनिबार, जेठ ५, २०८१

यो छाया कसको हो ?

ओम आचार्य २०७८ चैत १९ गते ७:३३

जब/ जब
मेरो देशले
एक/एक कला वृद्धि गरी
आफ्नो अनुहारमा चमक ल्याउँछ
तब/तब
राहुले ग्रस्न थाल्छ
चमकको विरोधी हो राहु
उज्यालोको विरोधी हो राहु
पूर्णताको विरोधी हो राहु
०००
राहु छाया हो
यो कसको छाया हो
यो कसको परकाया प्रवेश हो
र यो राहु
छाया भएर बसेको छ
००००
देशको अनुहार
जहिल्यै पनि मलिन
दाहासंस्कार गर्न हिँडेका
मलामीको अनुहार जस्तो
त्यस्तो अनुहार वोकेर
देश सधैं शोकमा
देश सधैं भोकमा

हामीमा
हाम्रो शरीरमा हुँदै
यो राहु
स्कुल कलेज र हस्पिटलहरुमा किन वस्छ
यो राहु
गाँउ/सहर हुँदै राजमार्ग
र राजमार्ग हुँदै
दशगजामा किन वस्छ
यो राहु
संसद्/संसद् हुँदै
संसदीय भवनमा
संसदीय भवन हुँदै
सरकारसम्म पुगेको छ
०००
देशमा
देशको माटोमा
देशले ओगटेको अन्तरिक्षमा
र त्यो
अन्तरिक्षभित्रको हावा पानीमा समेत
यो राहु
किन विष भएर आउँछ

हामी सोझा छौं
हामी सरल छौं
हामी कञ्चन छौं
र हामी निश्चल छौं
तै भएर ग्रस्छ ।
०००
टेडो चन्द्रमालाई राहुले ग्रसेको देख्नुभएको छ ?
बांगो चन्द्रमालाई राहुले ग्रसेको देख्नुभएको छ ?
टेढो चन्द्रमासँग राहु पनि डराउँछ
बांगो चन्द्रमासँग राहु पनि डराउँछ ।
०००
अब हामी टेढो हुनुपर्छ
अब हामी बांगो हुनुपर्छ

राहु हामीसँग पनि डराउँछ ।

प्रतिक्रिया