एमाले विधान महाधिवेशन आजै सकिने : समूहको सुझावमा अध्यक्ष ओलीले जवाफ दिने

काठमाडौं । तीन दिनदेखि जारी नेकपा एमालेको विधान महाधिवेशन आज सकिने भएको छ ।
राजनीतिक र सांगठानिक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव पारित गर्दै महाधिवेशन सकिने छ । बिहान ८ बजेदेखि नै बाँकी रहेका पाँच समूहले महाधिवेशनमा सुझाव प्रस्तुत गर्ने र प्रतिवेदनमाथि प्राप्त सुझावमा अध्यक्ष ओलीसहितका नेताले जवाफ दिनेछन् । हिजो पाँच समूहले सुझाव दिएका थिए ।
आज बिहान प्रदेश २, गण्डकी प्रदेश, उपत्यका विशेष कमिटी, सम्पर्क समन्वय कमिटी र जनसङ्गठन तथा प्रवासका समूह नेताले तीन वटै प्रतिवेदनमा आआफ्नो समूहकोतर्फबाट सुझाव राख्ने कार्यक्रम छ ।
अध्यक्ष लगायतका नेताको जवाफपछि आजै राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पारित गर्ने एमालेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
शुक्रवार पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए ।
तीनै प्रतिवेदनमाथि हिजो शनिबार पहिलो चरणमा १० समूहमा विभाजित प्रतिनिधिले छलफल र दोस्रो चरणमा ती प्रतिवेदनमाथि समूहगत रूपमा उठेका सुझाव समूह नेताहरूले प्रस्तुत गरेका हुन् । १० मध्ये हिजो पाँच समूहका नेताहरूले सुझाव प्रस्तुत गरेका छन् ।
शुक्रबारदेखि सुरु महाधिवेशनमा ६ हजार ३४७ जना प्रतिनिधि सहभागी छन् ।

प्रतिक्रिया