करेन्ट लागेर मकुनाकाे मृत्यु !

नेपालखोज २०७८ असोज १७ गते १३:१३

काठमाडौं । कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयको रैथाने मकुना हात्ती मरेको छ । आरक्ष छेउको धानबारीमा लगाइएको करेन्ट परेर मकुना मरेको कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयले पुष्टि गरेको छ ।

आरक्षका संरक्षण अधिकृत अशोक रामले चरणको क्रममा धानखेतमा पुगेको मकुना हात्ती करेन्ट लागेर मरेको बताए । रामका अनुसार हात्ती आज (आइतबार) विहान मृत भेटिएको थियो । आरक्षका प्रमुख संरक्षण अधिकृत रामले मकुनाको मृत्युले आरक्षलाई ठूलो क्षति पुगेको बताए ।

आरक्ष कार्यालयले घटना मुचुल्का तयार पारेर शदगदको तयारी थालिएको जनाएको छ । केहि साता अघि मात्रै संरक्षण विभागले मकुना स्थानान्तरणको विषयमा तयारी थालिएको बताएको थियो ।

जसका लागि आरक्ष हातामा स्थापना गरिएको प्रकृति संरक्षण कोष मातहतको कोशी टप्पु संरक्षण केन्द्रलाई अध्ययनको जिम्मेवारी दिइएको थियो ।

मकुना जंगली हात्ती भएपनि रैथानेका रुपमा लामो समययता आरक्ष हातामै बस्दै आएको थियो । मकुना हात्तीसारमा रहेका हात्तीको अभिभावकका रुपमा समेत रहेको थियो ।

मकुना आरक्षमा रहेका जंगली हात्तीको नाइके समेत थियो । मकुनाको आक्रमणमा परी सर्वसाधारणको ज्यान जाने क्रम बढेसँगै हात्ती स्थानान्तरणको आवाज उठ्दै आएको थियो ।मकुनाले सुनसरी र सप्तरी तर्फका दर्जन बढीको ज्यान लिएको थियो ।

प्रतिक्रिया