कुकुर पाल्न दर्ता गर्नु पर्ने !

नेपालखोज २०७८ असोज १७ गते १५:१८


काठमाडौं । कुकुर पाल्ने र पछि जथाभावी रुपमा छाडिदिने समस्या बढेपछि तनहुँमा दर्ता गरेर मात्रै कुकुर पाल्न पाउने नियम लागू गरिने भएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले व्यास नगरपालिकाभित्र दर्ता गरेर मात्रै कुकुर पाल्न पाउने नियम लागू गर्न लागेको हो ।

कार्यालयले यस वर्ष व्यास नगरपालिकालाई रेबिजमुक्त बनाउन अभियान पनि सञ्चालन गर्न लागेको विज्ञ केन्द्र तनहुँका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार व्यास नगरपालिकाभित्र रहेका सामुदायिक तथा घरपालुवा कुकुरको विवरण पनि सङ्कलन गरिनेछ ।

कुकुर बिरालो मानिसका साथी भएकाले यिनीहरुलाई माया गर्नुपर्ने र वर्षको एकपटक सामुदायिक र घरपालुवा कुकुर, बिरालोहरुलाई रेबिजविरुद्धको खोप लगाउनुपर्ने विज्ञ केन्द्रले अनुरोध गरेको छ ।

रेबिज रोगको लक्षण देखापरिसकेपछि कुनै उपचार नभएको र मृत्यु निश्चित भएकाले हेलचेक्र्याइँ गर्न नहुने पशु प्राविधिकको भनाइ छ ।

प्रतिक्रिया