नागरिकता र सम्पत्तिको अधिकार पहिलो प्राथमिकता : कुल आचार्य

काठमाडौं । गैरआवासीय नेपाली संघको आसन्न महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले आफ्नो प्रतिवद्धता सार्वजनिक गरेका छन् ।
उनले आगामी २ वर्षमा संघको सदस्य संख्या कम्तीमा ५ लाख पुर्याउने र राष्ट्रिय समन्वय परिषदको संख्या १ सय पुर्याउने घोषणा गरेका छन् ।
असोज १० मा काठमाडौंमा विशेष समारोहको आयोजना गरी उम्मेदवारी घोषणा गरेका आचार्यले सोमबार एक भर्चुअल पत्रकार सम्मेलन गरी आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।
आचार्यले सार्वजनिक गरेको प्रतिबद्धतामा प्रवासमा लाखौं नेपालीहरु रहेको भएपनि संघमा अपेक्षाकृत सहभागिता नभएको उल्लेख छ ।
उनले आफू अध्यक्षमा निर्वाचित भएपछिको दुई वर्षमा सदस्य संख्या कम्तीमा पाँच लाख पुर्याउने र एनसीसीहरुको संख्या पनि एक सय पुर्याउने बताए । हाल संघका पन्जीकृत सदस्य संख्या एक लाखको हाराहारीमा रहेको छ भने ८४ देशमा एनसीसी स्थापना भएको छ । तर, बीस वटा एनसीसी भने हाल निष्कृय रहेका छन् ।
‘पद्धति र पारदर्शिता’को नारासहित उम्मेदवारी घोषणा गरेका आचार्यले निर्णय प्रक्रियामा सहभागिता र कार्यान्वयनमा पारदर्शितालाई पहिलो शर्तका रुपमा अघि सारेका छन् ।
नेपालको संविधानले प्रदान गरेको गैरआवासीय नेपाली नागरिकताको अधिकार कार्यान्वयनमा ल्याउन आवश्यक सबै पहल गर्ने आचार्यले स्पष्ट पारे ।
कोभिड महामारीको कारणले प्रवासमा रहेका नेपाली मजदुरहरुको उद्धार गर्न दातृ निकायले दिएको अनुदानमा समेत आर्थिक अनियमितता भएको समाचारले संघ र सम्पूर्ण गैरआवासीय नेपाली परिवारको शिर निहुरिएको भन्दै आचार्यले आगामी दिनमा यस्तो अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले सदस्यता र डेलिगेट्ससम्बन्धी पछिल्लो विवाद पनि व्यक्तिगत स्वार्थ, अपारदर्शी निर्णय र विधान विपरीतका क्रियाकलापका कारण उत्पन्न भएको उनले बताए ।
अध्यक्ष पदका उम्मेदवार आचार्यले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले पठाएको रेमिट्यान्स मुलुकको अर्थतन्त्रको प्रमुख मेरुदण्ड भए पनि रेमिट्यान्स पठाउने दाजुभाइ तथा दिदीबहिनीहरुको पसिनाको सम्मान हुन नसकेको बताए ।
सातै प्रदेशमा सीप विकास प्रशिक्षण केन्द्र स्थापना गरी स्वरोजगारका लागि अभिप्रेरित गर्ने तथा वैदेशिक रोजगारीमा जानेहरुका लागि आवश्यक आधारभूत सीप प्रदान गर्ने आफ्नो लक्ष्य रहेको उनले जानकारी दिए । आचार्यले एक एनआरएन एक रोजगारको अवधारणालाई कार्यान्वयनमा ल्याउने पनि बताए ।
गैरआवासीय नेपालीहरुको लगानीलाई वृद्धि गर्दै मुनाफामुलक बनाउने र संघले सञ्चालन गरेका लगानी तथा पूर्वाधार बोर्ड र विकास कोषमा सहभागिता वृद्धि गर्ने पनि आचार्यले प्रतिबद्धता व्यक्त गरे ।
अध्यक्ष पदका उम्मेदवार आचार्यले विदेशमा ख्यातिप्राप्त नेपाली ज्ञानलाई आफ्नै मातृभूमिमा फर्काउनु आफ्नो उद्देश्य रहेको बताए ।
आचार्यले प्रवासमा नेपाली भाषा, कला र संस्कृति प्रचार प्रसार गर्दै विदेशमा नेपाललाई चिनाउने अभियान सन्चालन गर्ने उनले बताए ।
विदेशी पर्यटकलाई नेपाल भित्र्याउन संघका आम सदस्यहरुलाई सद्भावना दूतको रुपमा परिचालन गर्ने योजना पनि आचार्यले सार्वजनिक गरेका छन् ।
‘एनआरएनए भिजन २०२० एण्ड बियंड’ दस्तावेजमा गरिएका सिफारिसहरुलाई कार्यान्वयनमा ल्याउने, केन्द्रीय कार्यालयलाई थप प्रभावकारी र उत्तरदायी बनाउने, राष्ट्रिय समन्वय परिषद (एनसीसी)हरुलाई स्वायत्त, स्वावलम्वी र प्रभावकारी बनाउने योजना पनि आचार्यले सार्वजनिक गरेका छन् ।
आचार्यले गैरआवासीय नेपालीहरुलाई मात्रै नेपाली मूलका विदेशी नागरिकहरुलाई पनि नेपालसँग जोड्ने योजना सार्वजनिक गरेका छन् ।
विश्वका थुप्रैै मुलुकमा नेपाली मूलका मानिसहरु रहेको बताउँदै उनीहरुलाई नेपालसँग जोड्ने आफ्नो उद्देश्य रहेको बताए ।
‘पिपुल अफ नेपाली अरिजिन, पिएनओ’ हरुलाई नेपालसँग जोड्न सकेमा नेपालको विकास र समृद्धि तथा भावनामा पनि थप बल पुग्ने उनले बताए ।
कार्यक्रममा उपाध्यक्ष पदका उम्मेदवारहरु एसी शेर्पा, त्रिलोक गुरुङ, महासचिव पदका उम्मेदवार डा. केशव पौडेल, सचिव पदका उम्मेदवार नारायण आचार्य, प्रबिण गुरुङ तथा गंगाधर गौतम, युवा उपाध्यक्ष पदका उम्मेदवार हिमाल गुरुङ, महिला संयोजक उम्मेदवार जुनु गुरुङ, युवा संयोजक उम्मेदवार बिमला सापकोटा, सह-कोषाध्यक्ष पदका उम्मेदवार नारायण सुबेदी, गोविन्द श्रेष्ठ ,रोविन्दु, युरोपबाट उप क्षेत्रीय संयोजक पदका उम्मेदवार भिम केसी कमल लगायतले आफ्नो मन्तव्य राखेका थिए।

प्रतिक्रिया