बालुवामा पानी हाले जस्तै उपमहानगरको सौर्यबत्ती लगानी

बाँके । बाँकेको नेपालगञ्ज र आसपासमा जडान गरिएका अधिकांश सौर्यबत्ती बल्न छोडेका छन् । सौर्यबत्ती जडान गरिएको केही महिना मात्र बलेर विस्तारै अधिकांश सौर्यबत्तीहरू बल्न छोडेका हुन् । एक बर्ष नबित्दै रातको समयमा बत्ति बल्न छोडेपछि त्यसले सडक दुर्घटनाको झनै जोखिम बढेको स्थानीयले गुनासो गरेका छन् ।
६ महिनादेखि राम्ररी बलेको छैन् । तर, बत्तिको मर्मतसंभार गर्न सरोकारवालाले चासो नदेखाएको स्थानीय नागरिकहरुले बताउँछन् । सौर्यबत्ती मर्मतको लागि नेपालगञ्ज उपमहानगरपालिकाले हरेक बर्ष बजेट विनियोजन गर्ने गरेको छ तर, बत्ती मर्मत भएर बलेको देखिदैन् । उपमहानगरपालिका भित्र दुई सय ५० ओटा सौर्यबत्ती जडान भएका छन् । तर, जडान भएका मध्ये अधिकांशबत्ती बल्दैनन् ।
बत्ती नहुँदा रातको समयमा नियमित आवातजावत गर्न समस्या हुनुका साथै पटक–पटक सडक दुर्घटना समेत हुने गरेको छ । तर उपमहानगरपालिकाका जनप्रतिनिधिले भने खासै चोसो नदेखाएको स्थानीय ललितकुमार रौनियारले बतए । उनले सडकमा जडान गरिएका बत्ती बल्न छाडेकाले सडकमा हिड्ने मानिसहरु हिंडडुल गर्दा दुर्घटनाको जोखिम बढेको बताए ।
तर यता उप–महानगरपालिकाकी उपमेयर उमा थापामगरले भने उपमहानगरपालिकाले सडक बत्ती मर्मत कार्य गरिरहेको बताएकी छन् । उनले उप–महानगरपालिका भित्र बिग्रिएको सडक बत्ती मर्मतका लागि यो वर्ष २० लाख बजेट विनियोजन गरेको बताइन् ।
सौर्यबत्तीको एक बर्ष मात्र वारेन्टी हुने भएकाले बिग्रिने गरेको उनले बताइन् । उपमहानगरपालिकाको समन्वय र संसद् कोषबाट नेपालगञ्जमा सौर्यबत्ती जडान गरिएको थियो ।
प्रतिक्रिया