चितवनका ६ मेडिकल कारबाहीमा

नेपालखोज २०७८ असोज १९ गते ११:०५


चितवन । चितवनको भरतपुरमा सञ्चालनमा रहेका ६ मेडिकललाई स्थानिय प्रशासनले कारबाही गरेको छ । भरतपुरको चौबिस कोठीमा सञ्चालनमा रहेका ति मेडिकललाई कारबाही स्वरुप पाँच हजारदेखि ३ लाख रुपैयाँसम्म जरिवाना गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयका मुद्दा शाखाका नायव सुब्बा गोपीचन्द्र दवाडीका अनुसार कारबाहीमा पर्नेमा नवल टेन्टल क्लीनिक, भरतपुर पोलिक्लीनिक, नवल पोलिक्लिनिक, मिराकल फर्मा, रिजन फार्मेसी र अपोलो टेन्टल छन् ।

उपभोक्ता संरक्षण विभागले तोकेको बजार निरीक्षण अधिकृत सहायक प्रमुख जिल्ला अधिकारीले ती संस्थालाई कारबाही गर्नुभएको हो । सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि शर्माका अनुसार नवल टेन्टल क्लिनिक, भरतपुर पोलिक्लिनिक र नवल पोलिक्लिनिकलाई तीन-तीन लाख रुपैयाँ जरिवाना गरिएको छ ।
मिराकल फर्मालाई दुई लाख ५० हजार रुपैयाँ , रिजन फार्मेशिलाई २० हजार रुपैयाँ र अपोलो डेन्टल क्लीनिकलाई रु पाँच हजार जरिवाना तोकिएको उनले जानकारी दिए ।

मापदण्ड पूरा नगरेको, खरिद बिक्री बिल नराखेको, दक्ष जनशक्तिको नियुक्त र शैक्षिक प्रमाणपत्र नराखेको, बढी मूल्यमा बिक्री गरेको, समय सकिएका औषधि छुट्टै नराखि एकै ठाउँमा राखेको, अनुमति नलिई सञ्चालन गरेकोलगायत कारण उनीहरुलाई कारबाही गरिएको शर्माले बताए ।
चाड पर्वको समयमा स्थानीय प्रशासनले अनुगमनलाई तीव्र पारेको छ । रासस

प्रतिक्रिया