कालोधनको नारा दिनुहुन्छ, त्यसको जवाफ दिने कसले ?

नेपालखोज २०७८ असोज १९ गते १६:०१

काठमाडौं । नेपाली कांग्रेसका सांसद् दिलेन्द्र प्रसाद बडुले प्रमुख प्रतिपक्षी दलका सांसदहरुले संसदमा विभिन्न विषय उठाएर नाराबाजी गरे पनि त्यसको जवाफ सुन्न नचाहेको बताएका छन् । मंगलवारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद् बडुले प्रमुख प्रतिपक्षी दलका सांसदहरुले नारामा विभिन्न विषयको उठान गरेको भए पनि त्यसको जवाफ सुन्न तयार नभएको बताका हुन् ।

सभामुखले संसदीय परम्परा, मूल्यमान्यता र प्रतिनिधि सभा नियमावलीबारे बारम्बार सजग गराउँदा पनि प्रतिपक्षी सांसदहरु सुन्न तयार नभएको उनले बताए । संसदमा उठेका कालो धनलगायतका विषयमा सम्बन्धित पक्षले जवाफ दिनका लागि पनि संसद खोल्नुपर्ने उनले बताए । संसद् खुलेमा प्रतिपक्ष दलले उठाएको सबै विषयवस्तुको जवाफ पाउने उनको भनाई छ ।

उनले भने – ‘कालोधनको नारा दिनुहुन्छ, त्यसको जवाफ दिने कसले ? उहाँले एकोहोरो नारा त लगाइ रहनु भएको छ । संसदीय परम्परा, मान्यता र हाम्रो प्रतिनिधि सभा नियमावलीले भनेका विषयहरु सभामुखले एकोहोरो सुनाइ रहनु भएको छ, तर उहाँहरु त्यसलाई सुन्न तयार हुनु हुन्न । सम्बन्धित पक्षले जवाफ दिन्थ्यो होला हाउसमा, हाउस चल्न दिएको भए । जे-जे नारा दिनु भएको छ पर्याप्त छ । अब त्यसको जवाफ सुन्नलाई हाउस चल्न दिनुपर्छ अनि मात्र उहाँहरुको एकोहोरो नाराको अर्थ हुन्छ ।’

सांसद् बडुले नेपाली कांग्रेसको स्थानीय तहको अधिवेशनले पार्टीलाई अझ सक्रिय र अनुशासित रुपमा अगाडी बढाउन आम धारणा बनेको बताएका छन् । चुनावी परिणाम विभिन्न समुहको मिश्रित रुपमा आएको भन्दै उनले यसले पार्टीलाई समुहगत रुपमा पनि सन्तुलित राख्ने बताए ।

त्यस्तै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ नेपाली कांग्रेसका सांसद् देवेन्द्रराज कडेलले प्रतिपक्षले उठाएको विषय सर्वोच्च अदालतमा विचाराधिन मुद्धा भएकाले संसदमा त्यसलाई विषय बनाउन नसकिने बताएका छन् । सर्वदलीय बैठक बसेर संसदको गतिरोधलाई निकास दिनुपर्ने उनले बताए । सांसद् कडेलले संसदलाई अनिर्णयको बन्दी बनाउँदा मुलुकको हित नहुने पनि बताए । प्रतिपक्ष दलले छलफलको माध्यमबाट निकास दिनुपर्ने उनले बताए ।

प्रतिक्रिया