जसपाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित चार मन्त्रालय पाउने

नेपालखोज २०७८ असोज १९ गते १८:१४

काठमाडौं । सत्तासाझेदार जनता समाजवादी पार्टी नेपालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित चार वटा मन्त्रालय पाउने भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ गठबन्धन दलबीच आफ्नो पार्टीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय दिने सहमती भएको औंपचारिक जानकारी गराएका हुन् ।

सत्तारुढ गठबन्धन दलको बैठक मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । बैठकले आफ्नो पार्टीलाई ४ वटा मन्त्रालय दिने निर्णय गरेको कुरा पार्टी संसदीय दलका नेता समेत रहेका अध्यक्ष यादवले संसदीय दलको बैठकमा जानकारी गराएको पार्टीका नेता राजकिशोर यादवले जानकारी दिए । त्यसैगरी बैठकले पार्टीको तर्फबाट मन्त्री बन्नेहरुको नामावली टुंगो लगाउने जिम्मेवारी अध्यक्ष यादवलाई नै दिएको छ ।

जनता समाजवादी पार्टी, नेपालका २१ जना सांसदहरु रहेका छन् । सरकार गठन भएको ८३ दिनपछि बल्ल सत्तारुढ गठबन्धनले मन्त्रालय भागबण्डाको विषय टुंगो लगाएको हो । अव दलहरुले मन्त्रीहरुको नामावली प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएपछि मन्त्रीपरिषदले पूर्णता पाउनेछ ।

प्रतिक्रिया