सोमबार, वैशाख १५, २०८२

आमनागरिकसँग विवाह गर्दै जापानकी राजकुमारी, १.३५ लाख डलर त्याग

नेपालखोज २०७८ असोज २० गते ९:०९

टोकियो । जापानकी राजकुमारी माको यही अंग्रेजी महिनाको अन्त्यतिर वैवाहिक जीवनमा प्रवेश गर्दै छिन् । यो विवाह साधारण हुनेछ । यसमा कुनै विशेष समारोह आयोजनाको तयारी पनि छैन ।

संसारभरमा यो विवाहप्रति विशेष चासो किन छ भने राजकुमारी माकोले जोसँग विवाह गर्दै छिन् ती युवक आमनागरिक केई कोमुरो हुन् । राजवंशसँग उनको कुनै साइनो छैन ।

जापानी राजमहलले के कुरा स्विकारेको छ भने राजकुमारीकी हुनेवाला सासूसँग जोडिएको एउटा वित्तीय विवादका कारण यो विवाहलाई जनताले भनेजस्तो समर्थन दिइरहेका छैनन् । खासमा राजकुमारीकी भावी सासू मुछिएको आर्थिक विवाद जापानको शाही परिवारका लागि लज्जाको विषय भएको छ । यही कारणले यो विवाहमा तीन वर्षदेखि अलमल भइरहेको छ ।

विवाहका लागि राजकुमारीका भावी पति केई कोमुरो गएको साता नै न्युयोर्कबाट जापान फर्किसकेका छन् । उनी न्युयोर्कमा कानुन अध्ययन गरिरहेका छन् ।

भनिन्छ- राजकुमारी माको र केई कोमुरोले यही अक्टोबर २६ तारिखमा आफ्नो विवाह दर्ता गराउनेछन् । त्यसपछि एउटा ‘प्रेस कन्फ्रेस’ आयोजना गरिनेछ । अनुमानअनुसार त्यसपछि नव-दम्पतीले न्युयोर्कमा एकसाथ नयाँ जीवन सुरु गर्नेछन् ।

समाचार एजेन्सीहरुका अनुसार यो विवाहमा कुनै समारोहको आयोजना तथा परम्परागत रितिरिवाज निर्वाह गरिने छैन । किनभने यो विवाहमा सहभागी हुन मानिसहरु हिच्किचाइरहेका छन् ।

जापानी राजमहलका अधिकारीहरुका अनुसार राजकुमारी माकोले विवाहबापत पाउने एक लाख पचास हजार येन (१.३५ मिलियन डलर) पनि अस्वीकार गरेकी छन् । उक्त रकम नलिएपछि उनी शाही परिवार त्याग गर्न स्वतन्त्र हुने बताइँदै छ ।

राजकुमारी माको सम्राट नारुहितोकी भतिजी हुन् । माको र उनका प्रेमी कोमुरो टोकियो अन्तर्राष्ट्रिय इसाई विश्वविद्यालयमा सँगै अध्ययन गर्थे । उनीहरुले २०१७ को सेप्टेम्बरमै एक वर्षपछि अर्थात २०१८ मा विवाह गर्ने घोषणा गरेका थिए तर त्यसको दुई महिनापछि नै एउटा वित्तीय विवाद सार्वजनिक भयो जसले गर्दा राजकुमारी माकोको विवाहसमेत विवादमा तानिएको छ ।
-अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा
तस्बिर : जापान टाइम्स

प्रतिक्रिया