आज पितृ विसर्जन गरिँदै

काठमाडौं । असोज कृष्णपक्षको अन्तिम दिन आज आफ्ना दिवंगत आफन्तलाई तर्पण दिएर पितृपक्ष विसर्जन गरिँदैछ । बडादशैँ पर्व सुरु हुनुअघि पितृ (दिवंगत आफन्त)लाई तर्पण दिँदै असोज कृष्णपक्षभरिको पितृपक्ष आज विसर्जन गर्न लागिएको हो ।
पितृ विसर्जन गर्न आज मैथिल परम्पराअनुसार जिल्लाका धार्मिकस्थल र पवित्र जलासय एकाबिहानै भरिभराउ छन् । पितृपक्षमा धार्मिकस्थलमा पितृलाई तर्पण र पिण्ड दिने हिन्दू मैथिल परम्परा छ । यसै परम्परालाई थाम्दै आज हिन्दू मैथिलले महोत्तरीका धार्मिक महत्वका जलाशय र धार्मिकस्थलमा तर्पण तथा पिण्ड दिएर १५ दिने पितृपक्ष विसर्जन गर्न लागेका हुन् ।
जिल्ला सदरमुकाम जलेश्वरस्थित जलेश्वरनाथ महादेव मन्दिर, पुरन्दर, वरुण र भार्गव सर (तलाउ) तथा जिल्लाकै मटिहानीस्थित श्रीलक्ष्मीनारायण मन्दिरमा पितृ तर्पण दिनेहरु भरिभराउ छन् ।
पितृपक्षमा तीर्थस्थलमा तर्पण र पिण्डदान गरे पितृ तृप्त हुन्छन् भन्ने मैथिल–हिन्दू जनविश्वास छ । यजमान (श्राद्ध गर्ने कर्ता) को भीड बढेसँगै पुरोहित (कर्मकाण्डी ब्राह्मण)लाई पनि भ्याइनभ्याइ परेको छ । कर्तापिच्छे गोत्र, नाउँ र पितृको फरक–फरक सङ्कल्प पढ्नु र कर्तालाई अह्राइरहनुपरेको पुरोहित बताउँछन् ।
मिथिलामा असोज कृष्णपक्षका १५ तिथिभित्र १६ तिथि (पूर्णिमा तिथिको श्राद्ध असोज कृष्ण प्रतिपदा वा औँसीका दिन गरिनेसमेत १६) का श्राद्ध गरिने भएकाले यसलाई ‘सोलहसराद’ (सोह्रश्राद्ध) पनि भन्ने गरिन्छ ।
प्रतिक्रिया