प्रदेश एकमा विद्युत प्रवाहको मेरुदण्ड तयार, घिसिङलाई साँचो हस्तान्तरण

नेपालखोज २०७८ असोज २० गते १४:४९

काठमाडौं । कोसी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत पहिलो प्याकेजको प्रसारण लाइन निर्माण सम्पन्न भएको छ ।

पहिलो प्याकेज अन्तर्गत सुनसरीको इनरुवावाट संखुवासभाको बसन्तपुर, बानेश्वर हुँदै तुम्लिङटारसम्मको २२० केभी डबल सर्किट टावर निर्माण गर्ने र टावरको एक तर्फ मात्र तार तान्ने कार्य सम्पन्न भएको छ ।

नेपाल विद्युत प्राधिकरण र भारतीय एक्जिम बैकद्धारा धनकुटाको हिलेमा सोमबार संयुक्त कार्यक्रम आयोजना गरी पहिलो प्याकेज अन्तर्गतको प्रसारण लाइन निर्माण सम्पन्न भएको घोषणा गरिएको थियो ।

अनुमानित लागत ११ करोड २० लाख अमेरिकी डलर रहेको प्रसारण लाइन आयोजना नेपाल सरकारको लगानी र भारत सरकारले एक्जिम बैक दिएका सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । एक्जिम बैंकबाट आयोजनाका लागि ९ करोड अमेरिकी डलर सहुलितपूर्ण ऋण प्रवाह भएको छ ।

कोसी करिडोर प्रसारण लाइन आयोजना मार्फत तुम्लिङटारदेखि बसन्तपुरसम्म करिब १ हजार मेगावाट, ढुंगेसाँघु (ताप्लेजुङ) देखि बसन्तपुरसम्म करिब १ हजार मेगावाट र बसन्तपुरदेखि इनरुवासम्म करिब २ हजार मेगावाट विद्युत प्रसारण गर्न सकिन्छ ।

साथै एक नम्बर प्रदेशका जिल्लाहरुमा विद्युत् विश्वसनीय विद्युत् आपूर्तिका लागि प्रसारण तथा वितरण सञ्जाल बन्ने छ ।
कार्यक्रममा एक्जिम बैकका प्रतिनिधि विश्जजित गर्गले प्रसारण लाइन आयोजनाको पहिलो प्याकेज निर्माण सम्पन्न भएको साँचो ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवाल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा धनकुटा नगरपालिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, नेपालस्थित भारतीय दूतावासकी उपप्रमुख नामग्या सी खाम्पालगायतको उपस्थिती थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्रसारण लाइन निर्माणपछि प्रदेश नं १मा विद्युत प्रसारण तथा वितरणका लागि मेरुदण्ड तयार भएको बताए ।

कोसी करिडोर र कावेली करिडोर प्रसारण लाइनलाई लिंक गर्न लागिएको जानकारी दिंदै उनले आयोजनाअन्तर्गतका सबस्टेसनहरुको निर्माण सम्पन्न भएपछि यस क्षेत्रको विद्युत आपूर्ति गुणस्तरीय र विश्वसनीय हुने बताए ।

ऊर्जा मन्त्रालयका सहसचिव भेटुवालले प्रसारण लाइनको निर्माणबाट अरुण र तमोर जलाधार क्षेत्रका जलविद्युत आयोजनाको विद्युत ग्राहकेसम्म पुर्‍याउन पूर्वाधार तयार भएको बताए ।

प्रसारण लाइन निर्माणपछि यस क्षेत्रका खोलानालामा जलविद्युत आयोजना निर्माणका लागि निजी क्षेत्रको लगानीलाई थप सुनिश्चित बनाएको बताए ।

नेपाल र भारतबीचको सहकार्यका लागि ऊर्जा प्रमुख क्षेत्र रहेको बताउँदै भारतीय दूतावासकी उपप्रमुख खाम्पाले भारतले जारी गरेको क्रस बोर्डर विद्युत व्यापार निर्देशिकाका बमोजिम नेपालले भारतबाट विद्युत खरिद गर्न मात्र नभएर बिक्री गर्न समेत पाउने बताए ।

धनकुटा नगरपालिका मेयर चिन्तन तामाङले इच्छाशक्ति भएमा ठूला आयोजना पनि समयमै सम्पन्न हुन्छ भन्ने कोसी करिडोरको निर्माणबाट पुष्टि भएको बताए ।

उनले अब प्राधिकरण जनतालाई विद्युत जाँदैन भन्ने सुनिश्चित गर्नतर्फ केन्द्रित हुनु सुझाव दिए ।

प्रधिकरणले कोसी कोरिडोरमा नीजि तथा सरकारी तवरमा निर्माण हुने जलविद्युत आयोजनाहरुको वर्तमान कार्य प्रगति तथा भावी योजनालाई मध्यनजर आयोजनाहरुवाट उत्पादन हुने विद्युत प्रसारणको लागि सो लाईनको दोस्रो सर्किटको तार तान्ने कार्य र सम्वन्धित सवस्टेशनहरुमा २२० के.भी. लाईन बे तथा पावर ट्रान्सफरमरहरुको क्षमता विस्तार गर्ने योजना बनाएको छ ।

आयोजनाको प्रथम चरणको कार्यको लागि जस्तै दोस्रो चरणको निर्माण कार्य अर्थात दोस्रो सर्किट तार तान्ने र सम्बन्धित सवस्टेशनहरुको क्षमता विस्तारको लागि आवश्यक अनुमानित लागत ४० मिलियन अमेरिकी डलर नेपाल सरकार मार्फत नेपाल विद्युत प्राधिकरणलाई लगानी जुलाईदिने सम्बन्धमा भारतीय एक्जिम बैंकलाई पत्राचार गरिसकेको छ ।

विश्वव्यापी फैलिएको कोरोना महामारी र त्यस पछी सिर्जित बन्दाबन्दीले यस आयोजना प्रभावित भएको थियो । यस प्रसारण लाइनमा जडान हुने विभिन्न उपकरणहरु र प्राविधिकहरु कोरोना महामारीको कारणले पूर्व निर्धारित समयमा नै आयोजना स्थलसम्म आइनपुग्दा निर्माण प्रभावित भएको हो ।

प्रसारण आयोजना ३ वटा प्याकेजमा विभाजन गरी निर्माण गरिएको छ । पहिलो प्याकेजमा इनरुवा–तुम्लिङटार प्रसारण लाइन, दोस्रो प्याकेजमा तीन वटा सबस्टेसन र तेस्रो प्याकेजमा तेह्रथुमको वसन्तपुरको ताप्लेजुङको ढुंगेसाँघुसम्म प्रसारण लाइन तथा सबस्टेसनको निर्माण गर्ने रहेको छ ।

आयोजनाको दोस्रो प्याकेज अन्तर्गतका संखुभासभाको बानेश्वर तथा तुम्लिङटार र वसन्तपुरमा २२०-१३२-३३ केभीका तीन वटा सबस्टेसनहरु र इनरुवा सबस्टेसनमा ‘बे एक्सटेन्सन’ को काम अन्तिम चरणमा छन् ।

प्रतिक्रिया