एमसीसी तत्काल संसदबाट अनुमोदन गरी कार्यान्वयन लैजान सरकारसँग माग

काठमाडौं । निजी क्षेत्रले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) तत्काल संसदबाट अनुमोदन गरी कार्यान्वयन लैजान सरकारसँग माग गरेका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गर्दै एमसीसी तत्काल कार्यान्वयन गर्न माग गरेका हुन् ।
नेपालको विकासमा रणनीतिक महत्व राख्ने विद्युत प्रसारणलाइन र सडक मर्मत आयोजना समयमै निर्माण सम्पन्न गर्न सके उच्च आर्थिक वृद्धिलाई सघाउ पुग्ने भएकाले तत्काल परियोजना अघि बढाउनु पर्ने उनीहरुको सुझाव छ । कोभिड-१९ को महामारीपछि अर्थतन्त्रको सुधारका लागि पर्याप्त लगानी आवश्यक भएको र दीर्घकालमा विद्युत निर्यात एवं प्रविधि हस्तान्तरणको अवसर एमसीसीबाट प्राप्त हुने सम्भावना भएकाले राष्ट्रिय हित हेरी संसदबाट तत्काल पारित गरी कार्यान्वयन गर्न उनिहरुले आग्रह गरेका छन् ।
कोभिड- १९ ले सिर्जित परिस्थितिका कारण आन्तरिक स्रोत खुम्चिएको छ भने वैदेशिक सहायता पनि अपेक्षाकृत बढन सकेको छैन् । चालु आर्थिक वर्षको पहिलो महिनामा वैदेशिक लगानी ४९ प्रतिशतले घटेको हुँदा यस परिस्थितिमा ५० करोड अमेरिकी डलरको सहायता नेपालका लागि महत्वपूर्ण रहेको उनिहरुले बताएका छन् ।
प्रसारण लाइनको अभावमा उत्पादित विद्युत खेर जाने अवस्था सिर्जना हुँदै गएको अर्कोतर्फ कमजोर सडक पूर्वाधारले नेपालको औद्योगिक र व्यावसायकि लागत वृद्धि गरिरहेको हुँदा नेपालको उत्पादनको प्रतिस्पर्धी क्षमता समेत कमजोर बन्दै गएको जारी विज्ञप्तिमा उल्लेख छ ।
एमसीसी अन्तर्गतका आयोजना सुरु भएको ५ वर्षभित्र सम्पन्न गर्नुपर्ने व्यवस्थाले विकास सुशासनका लागि समेत नमुना बन्न सक्ने उनिहरुको भनाई छ । युरोप, एसिया, ल्याटिन अमेरिका र अफ्रिकाका ३० भन्दा धेरै मुलुकमा एमसीसी अन्तर्गत परियोजना निर्माण भइसकेकाले नेपालमा पनि सहज कार्यान्वयन हुनेमा निजी क्षेत्र विश्वस्त रहेको विज्ञप्तिमा भनिएको छ ।
साथै उनिहरुले एमसीसी अन्तर्गतका आयोजना कार्यान्वयन हुँदा मुलुकलाई आर्थिक लाभ मात्रै हुने हुँदा कार्यान्वयनका लागि सरकारसँग आग्रह गरेका छन् ।


प्रतिक्रिया