काँग्रेस नेताहरुको टोली बिहीबार भारत भ्रमण जाँदै

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको प्रतिनिधिमण्डल बिहीबार भारत भ्रमणमा जाने भएको छ । सत्तारुढ भारतीय जनता पार्टी र सरकारसँगको सम्बन्ध सुधारका लागि नेपाली काँग्रेसका सहमहामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत नेतृत्वको ३ सदस्यीय प्रतिनिधिमण्डल नयाँ दिल्ली जान लागेको हो ।
भारतीय जनता पार्टीका वैदेशिक मामिला विभाग प्रमुख विजय चौंथाइवालेको नियन्त्रणमा जाने लागेको सो प्रतिनिधिमण्डलमा काँग्रेस नेताहरु उदयशमशेर जबरा र अजय चौरसिया समेत रहेका छन् । भारत भ्रमणको क्रममा भारतीय जनता पार्टी र सरकारका पनि उच्च पदस्थ अधिकारीहरुसँग भेटगरी दुई पार्टीबीचको सम्बन्ध विकास गर्ने र सरकार सरकारबीचको पनि सम्बन्ध विकासमा सघाउ पुर्याउने गरी आफूहरु भारत भ्रमण जान लागेको काँग्रेस सहमहामन्त्री डा. महतले जानकारी दिए ।
नयाँ दिल्ली, लखनऊ र वनारसमा हुने छलफलले दुई देशबीचको एक अर्काप्रतिको चासो र चिन्तालाई सम्बोधन गर्न र कुनै समस्या देखिए तत्काल समाधान गर्न पनि सघाउ पुर्याउने उनले बताए ।
काँग्रेस प्रतिनिधिमण्डल भारत सरकारसँगको सम्बन्धलाई सुमधुर बनाउन भारत जान लागेको हो । पूर्व परराष्ट्रमन्त्री समेत रहेका काँग्रेस सहमहामन्त्री महतले दुई पार्टीबीचको छलफलले दुई मुलुकको बीचको नेतृत्व र जनता–जनताबीचको सम्बन्धलाई पनि बलियो बनाउने विश्वास व्यक्त गरे । उनले दुई मुलुकबीच कुनै समस्या भए तत्काल कूटनीतिक पहल गरी समाधान गर्न पनि यस्ता भ्रमणहरु उपयोगी हुने धारणा समेत राखेका छन् ।

प्रतिक्रिया