एकीकृत समाजवादीको बैठक सुरु,मन्त्रिपरिषद् पठाउने व्यक्तिका विषयमा छलफल केन्द्रित

नेपालखोज २०७८ असोज २१ गते १३:४९

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीको बैठक सुरु भएको छ । मन्त्रीपरिषद्लाई पूर्णता दिनका लागि नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीको बैठक अर्पण बैंक्वेटमा शुरु भएको हो ।

स्थायी कमिटीको आजको बैठकमा पार्टीका केही गतिविधि र मन्त्रिपरिषद्को बारेमा छलफल हुने बताइएको छ । मंगलवार बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालयको भागबन्डामा मोटामोटी छलफल गरिसकेको छ ।

आफ्नो पार्टीले पाउने भनिएका ४ मन्त्रालय र को–को मन्त्रीहरु बन्ने भन्ने विषयमा नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठक बसिरहेको हो ।

मंगलवारको सत्ता गठबन्धनको बैठकमा नेपाली कांग्रेसले ७, नेकपा (माओवादी केन्द्र) ले ६, जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) ले समान ४-४ वटा मन्त्रालय पाउने सहमति भएको थियो ।

तर नेपाल पक्षले आफ्नो पार्टीको भागमा थोरै मन्त्रालय परेको भन्दै असन्तुष्टि जनाउँदै आएको छ । अध्यक्ष नेपालले केही कुरा मिल्न बाँकी रहेको र फेरि बस्ने सत्ता गठबन्धनको बैठकपछि मन्त्रिपरिषद् बिस्तार हुने बताएका छन् ।

सरकारले सकेसम्म आजै मन्त्रिपरिषद् बिस्तार गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया