नेपालमा संक्रमण निको हुने दर ९६.७ प्रतिशत

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण निको हुने दर ९६ दशमलव ७ प्रतिशत पुगेको छ । गत चौबीस घण्टामा थप ८९९ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएसँगै संक्रमण निको हुने दर ९६ दशमलव ७ प्रतिशत पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ७ लाख ७५ हजार ७२ पुगेको छ ।
त्यस्तै, गत चौबीस घण्टामा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार १६८ जनाको पीसीआर परीक्षणमा ६३६ र ५ हजार ८६३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १२४ जना गरि कुल ७६० जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख १ हजार ६३३ र एन्टीजेन विधिबाट ९२ हजार ९६३ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ३४० रहेको छ ।
त्यस्तै गत चौबीस घण्टामा थप ११ जनको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ११ हजार २२१ पुगेको छ ।

प्रतिक्रिया