उपत्यकामा झरी !

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा यतिबेला झरी परिरहेको छ । केही प्रदेशबाट मनसुन बाहिरिए पनि काठमाडौं उपत्यकामा भने यतिबेला वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाअनुसार यतिबेला लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट मनसुन बाहिरिएको छ । तर पूरै नेपालबाटै मनसुन बाहिरिन भने अझै केही दिन लाग्ने भएको छ ।
पश्चिमबाट पूर्वतिर हावा बहनुका साथै बंगालको खाडीबाट जलवाष्पयुक्त हावा आउने क्रम रोकिए पछि र तीन दिनसम्म लगातार पानी नपरेमा मनसुन बाहिरिएको मानिन्छ ।
यस वर्ष मनसुन गएको जेठ २८ गते नेपाल भित्रिएको थियो । यस वर्षदेखि मनसुनको अवधि परिमार्जन भएको छ । यसअघि सामान्यतया नेपालमा जुन १० मा मनसुन भित्रिने र सेप्टेम्बर २३ मा बाहिरिने गरेको थियो ।
यस वर्षदेखि जुन १३ मा मनसुन भित्रिने र अक्टोबर २ मा मनसुन बाहिरिने मौसमविद्को भनाइ थियो । तर मौमसविद्ले अनुमान गरेको अक्टोबर २ तारिखभन्दा एक हप्ता बढी समय घर्किसकेपछि बल्ल विभिन्न प्रदेशको मनसुन बाहिरिने क्रम सुरु भएको छ ।

प्रतिक्रिया