बिहीबार, वैशाख १३, २०८१

प्रतिरक्षा प्रणाली बलियो बनाउने प्राकृतिक उपाय !

डा. हेमराज कोइराला २०७८ असोज २४ गते ८:५२

कोभिड-१९ को कारण आज सम्पूर्ण विश्व तहसनहस छ । विगत डेढ वर्षदेखि विश्व मानव समुदायलाई अस्तव्यस्त बनाउँदै लगेको यो रोगले ३२ लाख मान्छेको ज्यान लिइसकेको छ । यस परिप्रेक्षमा यस रोगबाट जोगिन अनेकौं उपायको खोजी हुँदै छ, तर यस रोगको दिगो र भरपर्दो उपाय भनेको मानव प्रतिरक्षा प्रणाली सशक्त पार्नु नै हो । प्रतिरक्षा प्रणाली सशक्त भए यो रोगले त्यति असर गर्न सक्दैन र व्यक्तिले भाइरसलाई सजिलै जित्न सक्छ ।

कसरी गर्ने रोग प्रतिरोधक क्षमताको सशक्तीकरण ?
रोग प्रतिरोधक क्षमता (Immunity) को सशक्तीकरण कसरी गर्ने भन्नेबारे जान्नुभन्दा पहिला प्रतिरक्षा प्रणली वा व्याधि क्षमत्व (Immune system) भनेको के हो भनेर बुझ्न जरूरी छ । प्रतिरक्षा प्रणालीअन्तर्गत हड्डीभित्रको मज्जा (Bone Marrow) मा उत्पन्न भई रगत, तन्तुहरू र लिम्फनोडहरूमा रहेने सेता रक्तकोशहरू, लिम्फनोड, फियो, थाइमस आदिले मिलेर बनेको यस्तो प्रणाली जसले रोग कारक सूक्ष्मजीवहरू जस्तै ब्याक्टेरिया, भाइरस, ढुसी, एवं परजीवीहरू शरीरमा प्रवेश गर्नेबित्तिकै आक्रमण गरेर नष्ट गरिदिन्छन् । प्रतिरक्षा प्रणाली मजबुत भए रोगका किटाणुहरूलाई प्रतिरक्षा प्रणालीका कोषहरूले जित्दछ र रोगले केही गर्न सक्दैन तर प्रतिरक्षा प्रणाली कमजोर भए रोगका किटाणुहरूले जित्दछ र मान्छे मर्छ । यसर्थ प्रतिरक्षा प्रणालीको सशक्तीकरण नै हरेक सूक्ष्मजीवबाट हुने रोगहरूको सबैभन्दा भरपर्दो उपचार हो । प्रतिरक्षा प्रणालीको सशक्तीकरण गर्न वा रोग प्रतिरोधक क्षमता बढाउन निम्न प्राकृतिक चिकित्सा विधिहरू अपनाउन सकिन्छ ।

१. दैनिक ८ घण्टाको निद्रा
बेलुका ९ बजे देखि ५ बजेबीचको राम्रो, गहिरो र मीठो निद्राले सेता रक्तकोषहरू बढाउने, घाउ खटिरा निको पार्ने र संक्रमण नियन्त्रणमा महत्त्वपूर्ण भूमिका गर्छ ।

२. पर्याप्त पानी सेवन
पर्याप्त पानी पिउनाले शरीरमा विजातीय द्रव्यहरूको संकलन हुन पाउँदैन । यसो हुँदा शरीरमा अनावश्यक हानिकारक ब्याक्टेरिया, भाइरस, ढुसी एवं परजीवीहरूको वृद्धि हुन पाउँदैन । यसका अलावा पानी कम हुँदा शरीरमा विषाक्त पदार्थहरू जम्मा भई प्रतिरक्षा प्रणालीका कोषहरूलाई समेत निस्तेज पार्छ ।

३. योगभ्यास
योगभ्यासले शरीरमा रक्तसञ्चार नियमित पार्ने, पोषक तत्त्वहरूको समान वितरण गर्ने, विजातीय द्रव्यको निष्कासनमा भूमिका खेल्ने र प्रतिरक्षा प्रणालीका कोषहरू उत्पादन गर्न मद्दत गर्दछ ।

४. प्राणायाम
कपालभाती, भस्त्रिका, सूदर्शन क्रियाजस्ता छिटो–छिटो श्वास लिएर गरिने प्राणायामले शरीरमा नेचुरल किलर सेल र टी सेलको मात्रा बढाउने हुँदा भाइरसको संक्रमणसँग लड्न मद्दत गर्दछ ।

५. ध्यान
ध्यानले तनाव कम गर्दछ । तनाव कम हुँदा प्रतिरक्षा प्रणाली आफै मजबुत हुन्छ ।

६. शाकाहारी खाना
शाकाहार मानवको प्रकृति प्रदत्त अधिकार हो । शाकाहारी जीवनशैली अपनाउँदा मान्छेले आफूलाई धरै Zoonoses (जनावरबाट मान्छेमा सर्ने रोगहरू) बाट बच्न सक्छ । यसका अलावा मांसाहारीलाई विभिन्न किसिमका संक्रमणहरू पनि भइरहन्छन् । शाकाहारी खानाले संक्रमण र प्रदाहलाई निको पार्न मद्दत गर्दछ ।

७. पर्याप्त फलफूल एवं तरकारी सेवन
फलफूल एवं तरकारीमा प्रशस्त मात्रामा भिटामिन, खनिज एवं लवण र एन्टी-अक्सिडेन्टहरू पाइन्छन् । यी तत्त्वहरूले रोग प्रतिरोधक कोषहरूको उत्पादन एवं वृद्धि-विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ ।

८. आधा घण्टाको सूर्य स्नान-घाम तपाई
सूर्यको प्रकाश सर्वश्रेष्ठ प्राकृतिक कीटनाशक हो । साथै सूर्य–स्नान गर्दा शरीरमा प्रतिरक्षा प्रणाली मजबुत पार्ने भिटामिन डीको संश्लेषण हुन्छ ।

९. रेशा र चोकरयुक्त खानेकुरा
रेशा एवं चोकरले विजातीय द्रव्यहरूलाई शरीरबाट निष्कासन गर्नमा, पाचन प्रणालीलाई सफा गर्न र संक्रमणलाई निस्तेज गर्नमा मद्दत गर्दछ ।

१०. साप्ताहिक उपवास
उपवासले प्रतिरक्षा प्रणाली Reset गर्न मद्दत गर्दछ एवं उपवासपश्चात प्रतिरक्षा प्रणालीका कोषहरूको उत्पादनलाई पनि सहयोग गर्छ ।

११. सकारात्मक सोच
महामारी फैलँदा मान्छे रोगले भन्दा पनि डरले मर्ने गर्दछन्, यस्तो बेलामा सकारात्मक हुँदा समस्यासँग लड्न थप बल मिल्छ ।

१२. प्रकृतिसँगको सामीप्य
प्रकृतिसँगको सामीप्यले प्रकृतिमा विद्यमान ब्याक्टेरिया, भाइरस, ढुसी एवं परजीवीहरूसँग प्रतिरक्षा प्रणालीको जम्काभेट भइरहने हुँदा प्रतिरक्षा प्रणालीलाई चुस्त राख्न मद्दत गर्छ ।

१३. धूमपान एवं मद्यपान त्याग
धूमपान एवं मद्यपानले प्रत्यक्ष रूपमा प्रतिरक्षा प्रणलीलाई निस्तेज गर्दछ ।

१४. चिनी नखाने
चिनी सेवनले मुख एवं शरीरमा हानिकारक ब्याक्टेरिया आकर्षित गर्छ । यी ब्याक्टेरिया भएको ठाउमा भाइरस चाँडै आकर्षित हुन्छ र संक्रमण फैलन्छ ।

१५. जंकफुड सेवन नगर्ने
जंकफुड, फ्राइडफूड, रिफाइन्डफुडमा विद्यमान हानिकारक केमिकलले रगतमा विद्यमान प्रतिरक्षाका कोषहरूलाई निस्तेज बनाइदिन्छन् ।

यी विधिहरूको यथोचित प्रयोगले हाम्रो शरीरको व्याधि क्षमत्व वा रोग प्रतिरोधक क्षमता बढ्छ । व्याधि क्षमत्व मजबुत भएपछि रोगलाई सजिलै जित्न सकिन्छ ।

डा. हेमराज कोइराला

डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया