सोमबार, असार ३२, २०८१

लकडाउन र शिक्षा क्षेत्र

हरिकृष्ण खतिवडा (अपरुष) २०७७ मंसिर २४ गते ११:५५

गतवर्ष डिसेम्बरबाट विश्वभर फैएिकको कोरोना भाइरसको कारण नेपाल पनि त्यसको प्रभावबाट बच्न सकेको छैन । कोरोना भाइरसले विश्व महामारीको रुप लिएपछि नेपाल सरकारले पनि त्यसबाट बच्न लकडाउन गर्ने निर्णय ग¥यो । विभिन्न व्यवसायहरु जस्तै शिक्षा क्षेत्र पनि यसबाट अछुतो रहन सकेन । लकडाउनका बेला कालोबजारी र राजनीति पेशा बाहेकका सबै पेशा र क्षेत्र लगभग ध्वस्त हुन पुगे ।

अहिले आएर लकडाउनको नियम केही फितलो भएको छ । सबै व्यवसाय एवं पेशाहरु बिस्तारै पुरानै लयमा फर्कंदै छन् । तर, गाउँगाउँमा एक दुई स्कुलहरु खुले पनि राजधानीमा अझैसम्म स्कुलहरु खुल्न सकेका छैनन् । यसको मार विद्यार्थी र अभिभावकले खेप्नु परेको छ ।

धेरै जस्तो नीजी विद्यालयहरुले अनलाइन कक्षामार्फत कक्षा सञ्चालन गरे पनि त्यसको परिणाम खासै उत्साहजनक छैन । धनीवर्गलाई अनलाइन कक्षाले खासै असर नगरे पनि मजदुर वर्गका मानिसलाई अनलाइन कक्षा निल्नु न ओकल्नु भएको छ । साना नानीहरुलाई नबुझेको कुरा सिकाइदिन अभिभावकसँग क्षमता नहुने समस्याका कारण मजदुर वर्गलाई अप्ठेरो परेको छ भने अर्कोतिर पाँच हजार भाडा तिर्न धौ धौ परेको बेला बीस हजारको मोबाइल र हरेक महिना इन्टरनेटको शुल्क र स्कुलको शुल्कले ढाड सेकेको छ ।

सरकारी विद्यालयमा एका दुईले अनलाइन कक्षा सञ्चालन गरे तापनि अधिकांशले गरेनन् । सरकारी स्कुलका विद्यार्थीहरुको पढाई यस वर्ष भएन भन्दा फरक नपर्ला । कतिपय सरकारी विद्यालयहरुले खोजमूलक अध्ययन भन्दै प्रश्नपत्र बाँढे तापनि विद्यार्थी र अभिभावक दुबैमा त्यो रुचिकर देखिएन र असफल रह्यो । कतिपय सरकारी स्कुलका शिक्षकहरुको समय व्यर्थको राजनीतिक टिप्पणी गर्नमा र तास खेल्नमा नै बितेर गयो । प्रष्ट नीति र कार्यक्रमको अभावमा तिनीहरुले तलब त थापे तर कामको नाममा माखो पनि मारेनन् भन्दा पक्कै अनुचित नहोला ।

गत वर्षको एसइइ परीक्षाको नतिजा जुन रुपले प्रकाशित गरियो यसवर्ष पनि लगभग त्यही रुपले प्रकाशन हुनेमा शंका छैन । महामारी विषम परिस्थिति रहेको त पक्कै हो तर शिक्षा मन्त्रालयको उदासीनता देख्दा महामारी भन्दा पनि त्यो विषम परिस्थिति रहेको भान हुन्छ । झर्ला र खाउँलाको दाउमा भ्याक्सिन त आओस् भनेर ऊ निदाएर बसेको छ ।

अनलाइन कक्षाहरु लकडाउन खुकुलो भएपछि अभिभावकको लागि तनावको विषय बनेको छ । घरमा एकजना अभिभावक हमेशा रहनेहरुलाई थोरै राहत भए पनि दुबै जना काममा निस्कनु पर्ने अभिभावकलाई भने निकै तनाव भएको छ । घरमा रहने नानीलाई कसको जिम्मामा छोड्ने ? काम नगरे परिवार चलाउन अप्ठेरो हुने बच्चा छोडेर जाउँ जिम्मा लगाउने मान्छे छैन । ठूला नानीहरु हुने अभिभावकका लागि त झन् फलामको चिउरा भएको छ अनलाइन कक्षा । मोबाइल, ट्याब, कम्प्युटर र इन्टरनेटको जिम्मा लागाएर काममा गयो बच्चा कक्षामा थोरै समय बस्छ र विभिन्न अश्लील साइटहरु र अनलाइन गेमहरुमा समय बिताइदिन्छ या त सामाजिक सञ्जालको मनोरञ्जनमा ।

विद्यालय शिक्षालय मात्र नभएर बालबालिकाको लागि अनुशासनको प्रहरी चौकी पनि रहेछ भन्ने कुरा यतिबेला अभिभावकहरु महशुस गरिरहेका छन् । अभिभावक अफिस जाँदा बालबलिकाको निगरानी गर्न नसकिने हुँदा समस्याहरुले जटिल रुप लिइरहेका छन् ।

दिनभर कम्प्युटरको स्क्रीनमा बस्नाले बालबालिकामा छिटो रिसाउने, एकोहोरो हुने, खानामा रुची नहुने जस्ता समस्याले अभिभावकको तनावको पारो ह्वात्तै बढेको छ । दिनभर घरमा थुनिनाले एकपटक भनेको कुरा छिट्टै नमान्ने आलेटाले गर्ने बानीको विकास हुनु त छँदै छ शारीरिक व्यायामको अभावले बच्चाहरुको शरीर व्वाइलर कुखुराको जस्तै भएको छ । भविष्यका कर्णधारहरुको यस्तो अवस्था भइरहँदा अभिभावक मात्र चिन्तित भएर हुँदैन । शिक्षा क्षेत्रमा काम गरिरहेका हरेकले आफ्नो जिम्मेवारी कसरी पूरा गर्ने भन्नेतर्फ ध्यान दिनु आवश्यक छ ।

सबै क्षेत्र लगभग लकडाउन पछि आआफ्नो लयमा फर्कंदै गर्दा शिक्षा क्षेत्र पनि फर्कनूपर्छ भन्ने लाग्छ । कोभिडबाट हुने क्षतिलाई मध्यनजर गर्दै र सावधानी अपनाएर हामी अगाडि बढ्नैपर्छ । समस्या र चुनौतिलाई स्वीकारेर अगाडि बढ्नू नै हाम्रो जितको बाटो हुनेछ । निकै पछि पुगेर पहिले त्यसो गर्नुपर्ने रहेछ भनी पश्चाताप गर्नुभन्दा वर्तमानमा नै हामीले बिचार पु¥याएर काम लियौं भने त्यो गर्व र जितको विषय हुन सक्छ ।

विश्वविद्यालयहरुको हालत भने अलि फरक छ । पहिले पहिले विद्यार्थी राजनीतिको नाममा तालाबन्दीले पठनपाठन ठप्प हुन्थे विगत दस महिनादेखि कोरोनाले ठप्प छ । हिसाब बराबर । यसै पनि विश्वविद्यालयमा ६० दिनभन्दा बढी पढाई हुँदैनथ्यो । नीजी कलेजका कुरा छुट्टै हुन् । सरकारी कलेजहरुको हालत लकडाउन हुनू र नहुनुमा खासै भिन्नता छैन । सँधै पनि तालाबन्दी नै हुन्थे आज पनि त्यही भएको त हो । विद्यार्थीहरु परीक्षाको सूचना आएपछि पढ्न सुरु गर्थे यो वर्ष पनि त्यसै गर्लान् । नम्बर कम आयो भने कोरोना र विश्वविद्यालयलाई दोषी ठह¥याउँदै फेरि तालाबन्दी गर्लान् । चन्दा आतंकको हिसाब किताब मिलेपछि पुनः ताला खोलिहाल्नेछन् । यो नियमित काम हो यसमा लामो बहस गर्नू जरुरी छैन ।

हुन त आजको नेपालको शिक्षा अंग्रेजको भरिया बन्ने शिक्षा बनिसकेको छ । जे जस्तो शिक्षा आर्जन गरे पनि शिक्षित जनशक्ति अमेरिका, अष्ट्रेलिया, जर्मनी , क्यानडा र नर्वेको भिसा लगाउने र अंग्रेजको भरिया बन्न गइरहेको सत्य हाम्रो अगाडि छँदैछ । यसतर्फ शिक्षाको ठेक्का लिएका ठेकेदारहरुको अवधारणा कहिल्यै बहिर आएन । बरु उनीहरु नै आफ्नो सन्तान अंग्रेजको भरिया हुन गएकोमा गौरवान्वित भइरहेका छन् । जेठो छोरा अमेरिका, कान्छो क्यानडाको धाक र रफाफमा उनीहरु रमाइरहेको देख्दा खिस्सी नगरी रहन सकिँदैन । आजको यो अवस्था हुनुमा नेपाली मिडियममा पढ्नूलाई खिस्सीटिउरी गर्नू र नीजी विद्यालयलाई बढी महत्व दिनू हो । यो समस्यालाई हल गर्न बेलैमा नसोचे करिब एक शताब्दी हाम्रा सन्तान अंग्रेजको भरिया, मस्कौटे र पोछा मारुवा बनिरहने छन् यसमा कुनै शंका छैन ।

प्रतिक्रिया