‘नेपाल भारतबीच समस्या आउनु स्वभाविक हो’

नेपालखोज २०७८ असोज २५ गते ७:३१


काठमाडौं । हाल भारत भ्रमणमा रहनुभएका नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले नेपाल र भारतकाबीच सदियौँ पुरानो र नजिकको सम्बन्ध रहेकाले समय समयमा दुई देशबीचको सम्बन्धमा समस्या देखापर्नु स्वभाविकै भएको बताएका छन् ।

भारत भ्रमणका क्रममा आइतबार वनारसस्थित वनारस हिन्दू विश्वविद्यालय (विएचयू) मा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘नेपाल भारतबीच धार्मिक, आर्थिक, सांस्कृतिकलगायतका धेरै क्षेत्रमा सयौँ वर्षदेखिको सम्बन्ध हो, धेरै नजिक भएका नाताले पनि कहिलेकाहीँ कुनै विषयमा असमझदारी देखिनु पनि स्वभाविक हो ।’

उक्त विश्वविद्यालयको नेपाल अध्ययन केन्द्र र दिनदयाल अध्ययन केन्द्रद्वारा आयोजित अन्तक्र्रियामा उनले भने, ‘धेरै नजिक भएपछि सम्बन्धमा कुनै बेला असमझदारी पनि बढ्छ, कुनै विषयमा विवाद पनि आउन सक्छ, त्यसैले यी सबै विषयलाई दुवै तर्फबाट वार्ताको टेबलमा बसेर निकास निकाल्नुपर्छ, समस्या देखियो भने वार्ताबाटै समाधान पहिल्याउनुपर्छ ।

उनले दुई देशबीचको सम्बन्धलाई विश्वासका आधारमा बलियो बनाउनुपर्ने बताए । पूर्वपरराष्ट्रमन्त्रीसमेत रहनुभएका डा महतले यसभन्दा अघिल्लो केपी ओली सरकारको अस्थिर र अपरिपक्व परराष्ट्र नीतिका कारण दुई देशका बीचमा असमझदारी बढेको धारणा राखे ।

वर्तमान सरकारले विश्वासमा आधाारित रहेर आफ्ना छिमेकी एवं विश्व समुदायसँग सन्तुलित र परिपक्व परराष्ट्र नीति अख्तियार गर्ने धारणा पनि उनले बताए । भारत भ्रमणमा रहेको डा महतसहितको कांग्रेसको प्रतिनिधिमण्डललाई उक्त विश्वविद्यालयका चान्सलर भिके शुक्लाले स्वागत गरेको वनारसबाट डा महतले बताए ।

भारत भ्रमणमा रहेका डा. महतसहित कांग्रेस नेताद्वय उदय शमशेर राणा र अजय चौरसियाले नेपालका पुराना विद्वान्का साथै राजनीतिक दलका नेताले सोही विश्वविद्यालबाट ज्ञान हासिल गरेको प्रसङ्ग उल्लेख गर्दै वनारस हिन्दू विश्वविद्यालय दुई देशबीचको ऐतिहासिक सम्बन्धको सेतू भएको उनले बताए ।

सोही कार्यक्रममा महात्मा गान्धी विश्वविद्यालयका चान्सलरले नेपालको त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गर्ने बताउनुभएको थियो । रासस

प्रतिक्रिया