काठमाडौं महानगरपालिद्वारा प्रशासनिक भवनकोे शिलान्यास

नेपालखोज २०७८ असोज २५ गते १४:०८

काठमाडाैं । काठमाडौं महानगरपालिकाले आफ्नो प्रशासनिक भवन निमाणकोे शिलान्याश गरेको छ । सोमबार काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वातावरण विभाग रहेको स्थानमा भवन निमाणकोे शिलान्याश गरेका हुन् ।

करिब ६ रोपनी क्षेत्रफलमा भूमिगत तलासहितको ८ तले सुविधासम्पन्न भवन बन्न लागेको हो । काठमाडौं महानगरपालिकाको पहिचान तथा वास्तुशैलीलाई आधार बनाएर भवनको डिजाइन तयार गरिएको महानगरले बताएको छ ।

भवन भित्र नेवारी शैलीको चोकहरु रहने बताइएको छ । भवन संरचनामा प्रत्येक तल्लामा कार्यालयहरू, बैठक हल, प्रशासन/ कर्मचारी/ आगन्तुक एवं कार्यालय सञ्चालन र मर्मतका लागि आवश्यक स्थान छुट्याइएको छ ।

विपत्को समयमा प्रयोग गर्न सकिने गरि आपत्कालीन मार्ग तथा सुरक्षित भर्याङ रहने बताइएको छ । भवनको शिलान्यास गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले आफ्नो कार्यकालमा सबै महानगरपालिकाका वडाका कार्यालय भवनको पुनर्निमाण र नयाँ निर्माणलाई सम्पन्न गर्ने प्रतिवद्धता अनुसार नै केन्द्रिय भवनको शिलान्यास गरेको बताए ।

महानगरको अहिलेको हरिभवनमा केन्द्रीय कार्यालय बनाउन विभिन्न अड्चन आएको कारणले सुन्धारामा केन्द्रीय भवन बनाउन नसकेको बताए।

महानगरका सेवाग्रहीले सेवा लिने ठाउँ सेवाग्राही मैत्री हुनुपर्छ भनेर नै सबै वडा भवन नेपाली परम्परागत शैलीको निर्माण गरिरहेको जानकारी दिए ।

महानगरको केन्द्रिय भवन सँगै वडा भवन निर्माण गर्दा परंपरागत मौलिकता संस्कृति झल्किने र बाहिरी स्वरुप एकै खालको हुने गरी निर्माण गरिरहेको पनि प्रमुख शाक्यले बताए ।

महानगरपालिकाको केन्द्रिय कार्यालय रहने भवन ९२ हजार ६८ वर्गफुटको क्षेत्रफलमा रहने छ । भवनको जमिन तलादेखि सतौं तलासम्म कार्यालय प्रयोजनका लागि प्रयोग हुने छ भने आठौँ तलामा २ सय जना क्षमताको र १ सय जना क्षमताको छुट्टाछुट्टै २ हल निर्माण गरिने छ काठमाडौँ महानगरपालिकाले बताएको छ ।

भवन २०८० असोज मसान्तसम्ममा सम्पन्न गर्ने गरी ठेक्काको जिम्मा समानान्तर निर्माण सेवा प्रालीले पाएको छ । भवन निर्माणको लागत ६९ करोड ५८ लाख १९ हजार ३ सय ५९ रहेको छ ।

प्रतिक्रिया