मोतीपुर घटनाका मृतक परिवारलाई प्रदेश सरकारले एक लाख दिने

रुपन्देही । रूपन्देहीको मोतिपुरमा भएको घटनामा मृत्यु भएका परिवारलाई लुम्बिनी प्रदेश सरकारले राहतस्वरूप जनही रु एक लाख दिने भएको छ ।
मृतक परिवारलाई राहतस्वरूप नगद सहयोग गर्ने र दुवै पक्षबाट भएका घाइतेको उपचारको जिम्मेवारी सरकारले लिने निर्णय भएको मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विकले जानकारी दिए ।
आज बसेको सुरक्षा समितिको बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले राहत प्रदान गर्न आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मालाई जिम्मेवारी प्रदान गरेका छन् ।
मुख्यमन्त्री केसीले मोतीपुरका वास्तविक सुकम्बासीको समस्या हल गर्नका लागि सकुम्बासी समस्या सामाधान सुझाव कार्यदल निर्माण गर्न रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए ।
बैठकमा आन्तरिक मामिला तथा सञ्चार मन्त्री शर्माले घटना सम्वेदनशील भएको बताउँदै आगामी दिनका लागि सतर्क हुन र सबैलाई सम्वेदनशील बन्न अनुरोध गरे । बैठकमा लुम्बिनी प्रदेशका सुरक्षा निकायको सहभागिता रहेको थियो ।
बुटवल उपमहानगरपालिका–१७ मोतिपुरमा सुकुम्बासीको नाममा निर्माणाधीन औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोज्ने समूह र प्रहरीबीच आइतबार झडप हुँदा चार जनाको मृत्यु भएको थियो । रासस

प्रतिक्रिया