‘दसैँ भनेपछि अहिले पनि हुरुक्कै हुन्छु’

काठमाडौं । गायिका मेलिना राई धेरैले रुचाइएकी गायिका हुन् । उनको आवाजको यहाँ जो कोही फ्यान छ । चञ्चले स्वभावकी नायिका राई हरेकका मनमा राज गर्छिन् । उनले स्वर भरेका हरेक गीत बजारमा हिट गीत कहलिएका छन् । तिनै चुलबुली गायिका मेलिना अहिले पनि दसैँ भनेपछि हुरुक्कै हुन्छिन् ।
उनलाई चाडबाड अति मन पर्छन् । अन्य समयमा निकै व्यस्त हुने गायिका राईलाई चाडबाडमा घरपरिवार, साथीभाइ भेला भई रमाइलो गर्न निकै मज्जा लाग्छ । उनी यस वर्ष दसैँमा गाउँ गइनन् बहिनीसँगै काठमाडौंमा छिन् । तर उनकी आमा भने घरपरिवार भेट्न गाउँ पुगेकी छन् । त्यसैले पनि होला यस वर्षको दसैँ उनको सामान्य हुने भएको छ । फूलपातिको दिन भारतमा हुने कार्यक्रममा भाग लिन जानुपर्ने भएकाले पनि होला मेलिनाले यस वर्ष दुई दिदी बहिनी, केही साथीभाइसँग यही सामान्य हिसाबले दसैँ मनाउने योजना रहेको नेपालखोजलाई सुनाइन् । उनले भनिन्, ‘म र बैनी घरमै यतै बस्छौं । त्यस्तो रमाइलो हुँदैन । टीका लगाइदैन । यतिकै दिदी–बहिनी बसेर सामान्य रूपमा रमाइलो गर्ने । फेरि फूलपातिको दिन इन्डियामा मेरो शो छ । त्यता जान्छु । मेन भनेको त्यही हो शोमा जाने यता सामान्य रूपले मनाउने अरु त खास केही योजना छैन । त्यही हो दसैँले वर्षैभरी व्यस्त हुनेलाई पनि सबैसँगै भेट गराइदिने संयोग जुराइदिन्छ ।’
दसैँ मनाउने तरिका अहिले सबैको एउटै भए पनि समय र परिस्थितिअनुसार भने फरक पारेको हुन सक्ने उनको बुझाइ छ । ‘मनाउने तरिका त अहिले पनि त्यही नै हो । तर अवस्थाले थोरै फरक पार्न सक्छ । जस्तो– अहिले पनि कोरोनाले गर्दा गेट टुगेदर गर्न पाइएन । गत वर्ष पनि त्यस्तै भयो । यसले गर्दा पनि पहिलेको जस्तो रमाइलो गर्न पाइएको छैन । बाँकी त सबै मनाउने तरिका उस्तै हो ।’
‘चाडपर्व आयो भन्दैमा भिड गर्ने, स्वास्थ्य सावधानी नअपनाउने गरियो भने फेरि अर्को लहरको सामना गर्नुपर्ने परिस्थिति आउन सक्छ । तसर्थ सावधान रहनु नै जाति हुन्छ ।’
नेपालमा अहिले पनि कोरोनाको जोखिम कायमै रहेको हुँदा सरकारले पालना गर्न भनिएका सम्पूर्ण मापदण्डहरूको पूर्णरूपमा पालना गरी दसैँ मनाउन गायिका राईले सबैमा आग्रह गरेकी छन् । कोरोना संक्रमणदर कम हुँदै गइरहेको समयमा चाडपर्वले भिड भयो, स्वास्थ्य सावधानी अपनाइएन भने फेरि अर्को लहरको समान गर्नुपर्ने हुन सक्ने भन्दै उनले यस वर्ष सामान्य रुपले परिवारमै सीमित भएर चाडपर्व मनाउनुपर्ने बताएकी छन् ।
उनले भनिन्, ‘आफ्नो केयर आफैं गर्नुपर्छ । चाडपर्व आयो भन्दैमा भिड गर्ने, स्वास्थ्य सावधानी नअपनाउने गरियो भने फेरि अर्को लहरको सामना गर्नुपर्ने परिस्थिति आउन सक्छ । त्यसैले सबैले जोखिमलाई मध्य नजर गर्दै सावधान भएर परिवारमै सीमित भएर यस वर्षको चाडपर्व मनाउँदा उपयुक्त होला ।’ कोरोनाको जोखिमलाई मध्य नजर गर्दै दसैँ मनाउन आग्रह गर्दै राईले आफूलाई माया गर्ने सम्पूर्णलाई दसैँको शुभकामनासमेत दिएकी छन् ।
प्रतिक्रिया