‘सीमा समस्यालाई कुटनीतिक वार्ताबाट समाधान गर्नुपर्छ’

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका सह महामन्त्री प्रकाशशरण महतले सीमा समस्यालाई कुटनीतिक वार्ताबाट समाधान गर्नुपर्ने बताएका छन् । मंगलवार पत्रकारहरुसँगको कुराकानीमा सहमहामन्त्री महतले भारत भ्रमणका क्रममा आफूहरुले सीमा समस्यालाई सम्वाद र कुटनीतिक रुपमा समाधान गर्ने बारेमा छलफल भएको बताएका हुन् ।
उनले भारत भ्रमणका क्रममा व्यपार घाटाको समस्या, महाकाली तुइन प्रकरण र कोभिशील्ड सप्लाइको बारेमा छलफल भएको बताएका छन् । उनले महाकालीमा भारतीय एसएसबीका जवानले तुइन काटीदिँदा नदीमा बेपत्ता भएका जयसिंह धामीको बारेमा भारत सरकारले छानबिन गरेर निस्कर्षमा पुग्नुपर्ने कुरा राखेको र यसमा भारत सरकारले चासो देखाएको बताए । उनले भारत भ्रमणका क्रममा आफूले नेपाल सरकारको तर्फबाट राख्नुपर्ने मुख्य कुराहरु र मुद्दाहरु उठाएको बताए । भारतीय विदेश मन्त्री एस जयशंकरसँगको भेटमा आफूले दुवै देशको हीतका विषयमा चर्चा भएको बताए ।
सह महामन्त्री महतले नेपाली काँग्रेससँग भारतीय जनता पार्टी (भाजपा) ले उच्च महत्व र प्राथमिकता दिएको बताएका छन् । उनले नेपाल सरकारका कुराहरुलाई भाजपाले उच्च चासो र समस्या समाधानका लागि गम्भीरताका साथ लिएको बताउँदै कोभिशील्ड आपूर्ति र महाकाली तुइन प्रकरण लगायतका कुराहरुको तत्काल समस्या समाधान गर्ने बताए ।
उनले भारतीय पक्षले महाकाली तुइन प्रकरणमा आफूहरुको संलग्नता नरहेको बताए पनि महाकाली तुइन प्रकरण नेपाली जनतासँग जोडिएको कुरा भएकोले सरकारले नै एकपटक छानबिन गरेर निस्कर्षमा पुग्न आग्रह गरेको बताए ।
सह महामन्त्री महतले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कुटनीतिक पहल नै नगरेको बताउँदै आफूले भारत सरकारसँग कुटनीतिक पहल शुरु गरेको बताए । उनले पूर्व सरकारले जनता तिर मात्रै फर्केर ठूलो स्वरले कराएको तर सरकारी तहमा कुनै कुटनीतिक पहल नगरेको आरोप लगाए । उनले नेपाली काँग्रेस तर्क, तथ्यांक र आधारमा विश्वास राख्ने भएको बताउँदै अब कुटनीतिक पहलद्वारा समस्या समाधान हुँदै जाने बताएका छन् ।
उनले भारतीय जनता पार्टी (भाजपा) सँगको सम्बन्धले नेपाली काँग्रेस र देशलाई नै सकारात्मक हुने बताएका छन् । कतिपय सम्बन्ध नेपालले बुझाउन नसकेर पनि समस्या आएको भन्दै उनले भारतसँग राम्रो सम्बन्ध बनाउन सम्वाद आवश्यक रहेको बताएका छन् । उनले नेपालीहरुको महान चाड बडा दशैँ, तिहार र छठ पर्वपछि प्रधानमन्त्रीको भारत भ्रमण हुनसक्ने बताए ।
नेपालको राष्ट्रियता बलियो बनाएर अघि बढ्नु पर्ने र त्यसमै भारतको हित हुने बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतसँगको सम्बन्ध सुधारमा चासो दिइरहेका छन् । भारत भ्रमणमा सह महामन्त्री महतसहित उदय समशेर राणा र विजय चौरसियाको टीमले भाजपाका राष्ट्रिय महासचिवहरु अरुण सिंह, राजु बिष्ट,प्रवक्ता सुधांशु त्रिवेदी,महिला मोर्चाकी राष्ट्रिय अध्यक्ष भनाथी श्रीनिवासन र विदेश विभागका प्रमुख विजय चौथाइवाललगायतका नेताहरुसँग भेट गरेका थिए ।

प्रतिक्रिया