शुक्रबार, चैत १६, २०८०

ख्याल गरे १० वर्ष आयु बढ्छ !

नेपालखोज २०७८ असोज २८ गते १४:५०

काठमाडौं । जोसुकै मानिसलाईं पनि निरोगी भएर लामो आयुसम्म बाँच्न पाए हुन्थ्यो भन्ने हुन्छ । बढी उमेर बाँच्न चाहने सपना पूरा गर्न मानिसले विभिन्न अभ्यास गर्नुपर्ने हुन्छ । जीवनमा केही वर्ष बढी बाँच्छु भन्ने संकल्प लिएर सोहीअनुसार जीवनशैली अपनाइयो भने उद्देश्य पूरा हुनसक्छ । मानिसको बाँच्ने उमेरको सीमा प्रकृतिले नै बनाएको छ । थोरै मानिस मात्र मुस्किलले सय वर्ष र त्योभन्दा बढी बाँचेका छन् । बढी बाँच्नुको कारण स्वास्थ्यप्रतिको चेतना नैं बढी भएको स्वास्थ्यविद्हरू बताउँछन् ।

बढी उमेरसम्म बाँच्नका लागि बढी बाँच्न गर्ने उपायको उच्च लक्ष्य निर्धारण गर्न आवश्यक छ । तर यसतर्फ कमैले मात्र सोच्ने गरेका छन् । जसरी पनि जीवनयापन गर्न पाए हुन्छ भन्ने सोच नेपाललगायत धेरै देशका मानिसको छ । जसरी पनि जीवनयापन गर्छु भनेर जे भेटे पनि खाने बानीले स्वास्थ्यमा गम्भीर असर पुर्‍याई आयु नै कम हुने गर्छ ।

भाग्य वा दैवको खेला भन्दै स्वास्थ्यमा हेलचेक्र्याइँ गरेर उमेर निर्धारण गर्नु राम्रो होइन । संसारमा यस्ता मानिसहरू छन् जो जीवनमा पछि परेपछि भाग्यलाई धिक्कार्ने गर्छन् । ४० देखि ५० वर्ष आसपास उमेरका मानिसले स्वास्थ्यमा ख्याल गरे १० वर्षसम्म आयु बढ्न सक्ने चिकित्सकहरू बताउँछन् । १० वर्ष आयु बढाउन पाँचवटा विभिन्न सूत्र अपनाउनुपर्ने अमेरिका र बेलायतमा गरिएको एक अनुसन्धानले देखाएको छ । डायबिटिज, क्यान्सर, हृदयरोग, दमलगायतका बिरामीका हकमा भने यो नियम लागु नहुने चिकित्सकहरू बताउँछन् ।

एक अध्ययनअनुसार बढी उमेरसम्म निरोगी भएर बाँच्न कम्तिमा पाँचवटा बानी हाम्रो जीवनशैलीमा अभ्यास गर्न आवश्यक छ । यी पाँचवटा बानी अपनाइए १० वर्ष आयु बढ्ने अनुसन्धानको निष्कर्ष छ । स्वास्थ्यबद्र्धक खानपान, नियमित व्याम, सन्तुलित तौल, मदिरा र धूमपानको कुलतबाट टाढा भए ‘हाम्रो स्वास्थ्य राम्रो स्वास्थ्य’ हुन सक्छ । पाँचमा चार मात्रै बानीको विकास गर्ने अभ्यास जीवनमा लागु गर्ने हो भने पनि १० वर्ष आयु कम नहुने यानि बढ्ने विभिन्न स्वास्थ्यसम्बन्धी अनुसन्धानको निष्कर्ष छ ।

नेपालमा पनि बर्सेनि केही मानिसको मृत्यु विभिन्न जटिल रोगका कारण हुने गरेको छ । छिमेकी देश भारतमा प्रत्येक वर्ष हजारौं मानिसको मृत्यु हृदय रोग, डायबिटिज, क्यान्सर, श्वासप्रश्वास लगायतबाट हुने गरेको छ । नेपाल र भारतका विभिन्न तथ्यांक हेर्ने हो भने प्रत्येक वर्ष प्रत्येक चारजनामा एकजनाको मृत्यु विभिन्न घातक रोगबाट हुने गर्छ । घातक रोगहरूबाट ७० वर्ष नपुग्दै मानिसहरूको मृत्यु हुने गरेको छ । बाँच्ने उमेरको सम्भावना हुँदा–हुँदै स्वास्थ्यमा ख्याल नगर्दा उनीहरूले चाँडै ज्यान गुमाउनुपरेको छ ।

स्वस्थ जीवन जिउनका लागि फास्टफुड र डिब्बामा बन्द गरिएको खाना बर्जित गर्नुपर्ने हो । तर पछिल्लो समय यस्तै पत्रुखाना उपयोग गर्नेहरूको संख्या बढ्दै गएको छ । पत्रुखाना, चटपटे, चाउचाउ, नमकिन, चिप्सलगायत स्वास्थ्यका लागि जोखिमपूर्ण हुन् । मदिरा सेवन र धूमपान नगरे पनि पत्रुलगायत खानाले स्वास्थ्यमा गम्भीर असर गर्ने हुन्छ । अर्ग्यानिक ताजा फलफूल, तरकारीका साथै खाना खाने बानी बसाल्नुपर्छ ।

बढी मात्रामा नुन र चिनी सेवन पनि स्वस्थ व्यक्ति हुन चाहनेका लागि जोखिमपूर्ण ह्ुन् । यस्तै स्वस्थ रहन हरेक दिन ३० देखि ४० मिनेटसम्म व्यायाम गर्नुपर्ने हुन्छ । तर धेरै कमले मात्रै व्यायाम गर्ने गरेको विभिन्न अनुसन्धानहरूको निष्कर्ष छ । मानिसले सुविधाअनुसार स्विमिङ, रनिङ र साइक्लिङ गर्ने बानीको विकास गर्ने गर्नुपर्छ । व्यायाम गर्नका लागि एक सातामा कम्तिमा पनि पाँच दिन समय निकाल्दा राम्रो हुने जानकारहरू बताउँछन् ।

धूमपान स्वास्थ्यका लागि घातक हुने भएकाले यसको लत हटाउनु पर्नेमा चिकित्सकहरू जोड दिन्छन् । धूमपानको असर सीधै म्ुटु र फोक्सोमा पर्ने हुन्छ । मुटु र फोक्सोले काम गर्न नसके मृत्युको जोखिम बढ्न सक्छ । खानपानलगायत जीवनशैलीमा अपनाइने खराब आदतले मानिसको केही वर्ष बढी बाँच्ने चाहनामा असर गर्ने गर्छ ।

बढी मदिरा सेवन गर्नेमा मृत्युको खतरा बढी हुने अमेरिका र बेलायतमा गरिएको अनुसन्धानले देखाएको छ । थोरै मात्र मदिरा नियमित पिउँदा पनि स्वास्थ्यमा असर गर्ने हुन्छ । नेपाल सामाजिक तथा धार्मिक मान्यता राख्ने देश हो । मदिरा पिउनु स्वास्थ्यका लागि खतराका साथै सामाजिक विकृति पनि हो । बढी उमेर बाँच्ने चाहने मानिस मदिरा सेवनबाट पनि टाढा रहनुपर्ने हुन्छ ।

चिकित्सकका अनुसार मानिस कति वर्षसम्म बाँच्न सक्छ भन्ने निर्धारण गर्न डीएनएको योगदान १० प्रतिशत हुन्छ । बाँकी ९० प्रतिशत आफ्नो जीवनशैलीमा निर्भर रहने गर्छ । लामो समयसम्म बाँच्न चाहनेले आफ्नो जीवनशैली बदल्नु पर्नेमा चिकित्सकहरू जोड दिन्छन् ।

जापानमा विश्वका विभिन्न देशको तुलनामा धेरै जान्ने बुझ्ने मानिसहरू बसोबास गर्ने गर्छन् । यहाँ पुरुषको औसत उमेर ८१ र महिलाको ८८ वर्ष छ । उमेर बढी बनाउने उद्देश्य राख्ने हुनाले जापानीहरूको औसत उमेर बढी भएको अध्ययनले देखाएको छ । हरेक मानिसको जीवन बिताउने तरिका भिन्न–भिन्न किसिमका छन् । दैनिक सकारात्मक क्रियाकलापले मानिसको मानसिक तथा शारीरिक अवस्था पनि निर्धारण गर्ने गर्छ । स्वस्थ जीवनको लक्ष्य भेटाउने उपायहरू जापानीबाट सिक्न सकिन्छ । आफ्नो स्वास्थ्यको बढीभन्दा बढी ख्याल गर्ने सिद्धान्त जापानको वकिनआवामा छ । जहाँ सय वर्षभन्दा बढी उमेर समूहका मानिसको संख्या संसारमै सबैभन्दा बढी छ ।

भर्खरै मात्र ५० वर्ष आसापास उमेरका मानिसहरूको एक अनुसन्धान गरिएको छ । जुन अनुसन्धानले अभावमा जीवन गुजार्ने मानिसभन्दा सम्पन्नतामा जीवन गुजार्नेहरू बढी समय बाँच्ने गरेका छन् । उनीहरूमा बिमार पनि कम हुने गर्छ । पैसोकै कारण सम्पन्न व्यक्तिहरू स्वास्थ्यबद्र्धक खानपान अँगालेर र प्रभावकारी औषधि उपचार गरेर केही हदसम्म उमेर बढाउन सक्षम हुने गर्छन् । तर जीवनशैलीमा पत्रुखाना, मदिरासेवन, धूमपानको अभ्यास छ भने उनीहरूमा पनि चाँडै मृत्युको जोखिम नहोला भन्न सकिन्न ।

अमेरिका र इंग्ल्यान्डमा १० वर्षसम्म गरिएको अध्ययनअनुसार पैसावालको उमेर करिब नौ वर्षसम्म बढ्न सक्छ । यस समयमा उनीहरू निरोगी पनि हुने गर्छन् । १० हजारभन्दा बढी बेलायतका र १४ हजारभन्दा बढी अमेरिकाका धनी र गरिब मानिसको स्वास्थ्य सम्बन्धमा अनुसन्धान गरिएको थियो । करिब २५ हजार मानिसको अनुसन्धान गर्दा सम्पत्तिवाला मानिस ३१ वर्षसम्म स्वस्थ रहेको पाइयो भने गरिब मान्छे २३ वर्षसम्म मात्रै । पैसावाल र गरिब मानिसको उमेरबीच ९ वर्षको फरक देखिएको उक्त अनुसन्धानले देखाएको छ ।

वास्तवमा अस्वस्थ जीवनशैली कोही पनि व्यक्तिको लागि चाँडो मृत्यु हुने खतरा हो । स्वास्थ्यबद्र्धक खानपान, नियमित व्याम, सन्तुलित तौल, मदिरा र धूमपानको कुलतबाट टाढा भए सबै स्वस्थ हुन सकिन्छ । केही वर्षसम्म भए पनि आयु थप गर्न सकिन्छ । स्वस्थ जीवनशैली अपनाउन तपाई–हामी पनि आजैदेखि लाग्ने कि !

प्रतिक्रिया