शनिबार, जेठ ५, २०८१

दसैँपछि सेयर बजारमा प्रवेश गर्ने सोचमा हुनुहुन्छ ? जान्नुहोस् म्युचुअल फन्ड !

नेपालखोज २०७८ असोज २८ गते ११:३५

काठमाडौं । पछिल्लो समय सेयर बजारमा सामूहिक लगानी योजना अर्थात् म्युचुअल फन्डको कारोबार पनि बढ्दै गएको छ । म्युचुअल फन्डको लगानी सुरक्षित हुने र प्रतिफल पनि उच्च रुपमा प्राप्त हुने हुँदा पनि सेयर लगानीकर्ताहरुको यसप्रति आकर्षण बढ्न थालेको हो । यो अवस्थामा सामूहिक लगानी योजना अर्थात् म्युचुअल फन्ड भनेको के हो ? बुझ्नु जरुरी छ ।

सामूहिक लगानी योजना (म्युचुअल फन्ड) भन्नाले विभिन्न व्यक्ति वा संस्थाहरुको सहभागिता रहने गरी परिचालन गरिएको लगानी रकमलाई आफ्नो जिम्मेवारीमा लिई सोको दक्ष लगानी सेवाद्वारा प्राप्त भएका प्रतिफल सम्बन्धित कार्यक्रमका सहभागीहरुलाई समानुपातिक रुपले वितरण गर्न योजना व्यवस्थापकले सञ्चालन गरेको लगानी कोष, एकांक कोष वा त्यस्तै प्रकारको अन्य सहभागितामूलक कोष व्यवस्थापन कार्यक्रम भन्ने बुझिन्छ ।

धेरै लगानीकर्ताको बचतलाई संकलन गरी निश्चित वित्तीय औजारमा लगानी गर्छ । व्यावसायिक व्यवस्थापकको ज्ञान तथा अनुभव (जुन व्यक्तिगत लगानीकर्तामा नहुन सक्छ) को अधिकतम उपयोग गर्छ । आकारको फाइदा उठाउँछ जुन व्यक्तिगत लगानीकर्तामा हुन सक्दैन ।

म्युचुअल फन्डको खुलामुखी योजनामा लगानीकर्ता जुनसुकै समयमा पनि सहभागी हुनसक्छन् । यस्तो योजना परिपक्व हुने निश्चित अवधि तोकिएको हुँदैन । लगानीकर्ताले आफूसँग भएको एकांक जनुसुकै समयमा बेच्न सक्छन् र किन्न पनि सक्छन् । प्रचलित खुद सम्पत्ति मूल्यका आधारमा यसको किनबेच हुन्छ ।

म्युचुअल फन्डको बन्दमुखी योजना निश्चित परिमाण र निश्चित समयका लागि सञ्चालित हुन्छ । पूर्वनिर्धारित समयावधिमा लगानीकर्ताले योजनाको एकांक किन्न पाउँछन् । योजना परिपक्व भएपछि लगानीकर्ताले प्रचलित खुद सम्पत्ति मूल्यमा एकांक बिक्री गर्छन् ।

प्रतिक्रिया