मंगलबार, मंसिर १८, २०८१

ट्यांकर पार्किङले दुर्घटनाको जोखिम

नेपालखोज २०७८ असोज २८ गते १२:०६

कैलाली । निर्माणाधीन मोहना-अत्तरिया सडक खण्डको चटकपुर क्षेत्रमा ट्यांकरहरुले जोखिम बढाएका छन् ।

६ लेन सडकको चटकपुर क्षेत्रमा लस्करै पार्किङमा रमखिएका ट्यांकरहरुले जोखिम बढाएका हुन् । सडक छेउमै रहेको आयल निगमको कार्यालयका पेट्रोलियम पदार्थको ढुवानीका लागि हाल ८७ ट्यांकर छन् ।

तर पार्किङका लागि स्थल नहुँदा २४ देखि ४८ घण्टा सम्म ती ट्यांकर सडक छेउमा पार्किङमा राखिँदै आएका छन् । जसले सवारी दुर्घटना र आगलागीको जोखिम बढाएको आयल निगम सुदूरपश्चिमका प्रमुख रामकुमार न्यौपानेले बताए । उनले ८७ वटा ट्यांकरले पेट्रोलियम पदार्थहरु बोक्ने गरे पनि पार्किङ स्थलको अभावमा ट्यांकरहरुले सडकमै रोकिरहेको बताए ।

उनले भने, ‘पहिला जनघनत्वहरु कम थियो, बिस्तारै बढ्न थालेपछि हामीले यस डिपोको सेवा सुविधा पनि बिस्तार गर्यौं, अहिले ८७ वटा ट्यांकरले तेल ढुवानी गरिरहेका छन्, तर पार्किङ स्थलको व्यवस्था हुन सकेको छैन, जसकारण सडकमै ट्यांकर होल्डिङ गरिरहनु परेको छ, २४ घण्टा, ४८ घण्टा वा त्यो भन्दा पनि बढी होल्डिङ गर्छन्, जसले सवारीसाधनको आवतजावतलाई असर परेको छ, यसले ठूलो दुर्घटना निम्त्याउन सक्छ ।’

६ लेन सडकमा भइरहेको अव्यवस्थित पार्किङले दुर्घटनाको जोखिम निकै बढाएको छ भने साउनयता मात्रै १४ दुर्घटनामा एकजनाको मृत्यु र १२ जना घाइते भएका छन् । निर्माणाधीन अवस्थाकै ६ लेन सडकमा हालसम्म ११ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया