मंगलबार, कार्तिक २७, २०८१

सरकारले भन्यो- आगामी जेठ र असारमा कोभिड संक्रमणको दर उच्च विन्दुमा पुग्न सक्छ, स्वास्थ्य मापदण्ड पालना गरौं

नेपालखोज २०७७ चैत २३ गते १७:४७

काठमाडौं । सरकारले आगामी जेठ र असारमा कोभिड संक्रमणको दर उच्च विन्दुमा पुग्न सक्ने भन्दै स्वास्थ्य मापदण्डलाई पालना गर्न सबैलाई आग्रह गरेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको तर्फबाट कोभिड नियन्त्रणका लागि भएका पहलकदमीबारे जानकारी दिदै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गर्न आग्रह गरे ।

पछिल्लो समय कोभिड संक्रमितहरु बढ्दै गएको र छिमेकी भारतमा पनि बढ्दो दरमा रहेकाले स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना नगरे जेठ असारमा पुनः उच्च दरमा पुग्न सक्ने बताए ।

उनले भने, “कात्तिक पछाडिका दिनहरुमा संक्रमण क्रमशःकात्तिक पछाडिका दिनहरुमा संक्रमण क्रमशः घट्दै गएर माघको पहिलो सातादेखि निकै कम भईसकेकोमा पुन संक्रमण बढ्दै गईरहेको छ । अबका दिनमा स्वास्थ्यका मापदण्डलाई प्रभावकारी बनाउन सकिएन भने संक्रमण बढ्दै जेष्ठ असारमा अर्को उच्च विन्दुमा पुग्न सक्ने देखिन्छ । छिमेकी देश भारतमा फागुन १७ गते संक्रमितहरुको संख्या ११ हजार ५ सय ६३ बाट एक्कासी बढेर चैत्र २२ गते ९२ हजार ९ सय पुगेको स्थितिले हामीलाई थप सर्तक र सचेत बनाएको छ । कोभिड नियन्त्रणका लागि आवागमनलाई थप व्यवस्थित गर्दै रोगको शिघ्र पहिचान, आइसोलेसन र शंकास्पद व्यक्तिलाई अनिवार्य क्वारेन्टीन र जनस्वास्थ्यका मापदण्डको पुर्ण पालना गर्न सकेमा महामारीलाई नियन्त्रणमा राख्नुको साथै समयका हिसाबले पर धकेल्न सकिने भएकोले यसतर्फ सबैको ध्यान जरुरी छ । ”

उनले महामारी नियन्त्रणका लागि सरकारले समयमै आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गरेको स्पष्ट पारे । उनले गत पुस २० गते नै कोभिड १९ खोप प्राप्ति र कार्यान्वयनका लागि सरकारले सबै आवश्यक निर्णयहरु भएको बताए । खोपको आपतकालिन प्रयोगको अनुमति प्राप्त गरी आवश्यक कानुनी व्यवस्था गर्न औषधी तेस्रो संशोधन अध्यादेश २०७७ जारी गरिएको उनले स्पष्ट पारे । तर अध्यादेश संसदको पहिलो बैठकमा पेश हुन नसकेको तर्फ उनले चिन्ता व्यक्त गे ।

मन्त्री त्रिपाठीले दिनुभएको जानकारीअनुसार, चैत्र २२ गतेसम्म २२ लाख ८५ हजार भन्दा बढीको नमुना परीक्षण गरिएको छ । २ लाख ७७ हजार बढी संक्रमितको पहिचान र उपचार गरिएको छ । पहिचान भएका संक्रमितमध्ये ९८ प्रतिशत निको भईसकेका छन् । ३ हजार ३२ जनाले कोभिडका कारण ज्यान गुमाएका छन् । नेपालमा कोभिडका कारण मृत्यु हुनेको दर १ दशमलब १ प्रतिशत मात्रै रहेको छ । कात्तिकमा संक्रमणको दर उच्च रहेको थियो । सोमबार ३ बजेसम्म ४ हजार ५ सय ३६ जनाको नमुना परीक्षणमा २ सय ६७ जनामा कोभिड पोजेटिभ देखिएको जानकारी पनि उनले दिए ।

उनले पछिल्लो परिणामले विस्तारै पोजेटिभ केसहरु बढ्दै गएको संकेत गरेको बताए । सरकारले महामारी रोकथामका लागि बैज्ञानिक यथार्थपरक नीतिहरु तर्जुमा गरि बहुक्षेत्रिय सहयोग र समन्वयन गर्दे आएको पनि उनले स्पष्ट पारे । नेपाल सरकारको नेतृत्वमा प्रदेश सरकार र सबै स्थानीय सरकारहरुको समन्वय, सहयोग तथा सहकार्यका कारण कोभिड का कारण मृत्यु हुने तथा संक्रमण हुनेको दरलाई कम गर्न सकिएको बताए ।

उनले कोभिड १९ सताब्दीकै प्रमुख चुनौतिको रुपमा रहेको र त्यसले मानवस्वास्थ्यको संगै अर्थतन्त्रमा गम्भीर प्रभाव पारेको उल्लेख गरे । उनले मुलुकभरका प्रयोगशालाको स्थिति, कोभिड उपचारका लागि भएका व्यवस्था, क्वारेन्टीन लगायत बारे पनि विस्तृत जानकारी गराए । कठिन समयमा पनि सरकारले औषधी औजार अभाव हुन नदिएको भन्दै त्यस कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिए ।

असारभित्र ६० लाखलाई खोप लगाउने तयारी
मन्त्री त्रिपाठीले असारभित्र ६० लाख मानिसहरुलाई कोभिड १९ विरुद्धको खोप लगाउन प्रयासरत रहेको बताए । उनले पहिलो खोप लगाएकाहरुको दोश्रो डोज सुरक्षित रहेकाले प्रचारका पछाडि नलागि विश्वस्त हुन आग्रह गरे ।

कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत अहिलेसम्म ५ अरब १७ करोड ७२ लाख ८३ हजार खर्च भएको पनि उनले जानकारी दिए ।

पिसिआर, किट, गाउन औषधी उपकरण व्यवस्थापन, खोप खरिद, अभियान, स्वास्थ्यकर्मीको जोखिम भत्तालगायत सम्पुर्ण विषय अन्र्तगतको खर्च यसमा समेटिएको छ । मन्त्री त्रिपाठीले दिएको जानकारीअनुसार २ अरब ५४ करोड ५८ लाख रुपैया भने भुक्तानी हुन बाँकी छ । कोभिड नियन्त्रणका लागि भएका सम्पुर्ण खर्चबारे श्वेत पत्र जारी गर्न आफु र मन्त्रालय तयार रहेको पनि उनले बताए ।

प्रतिक्रिया