कैदी नम्बर ९५६ !

मुम्बई । सपनाको सहर मुम्बईको आर्थर रोडस्थित सेन्टर जेल । जहाँ सयौं कैदीबन्दीमध्ये अहिले कैदी नम्बर ९५६ सर्वाधिक चर्चामा छन् । जेलमा भए पनि उनको समाचार राष्ट्रिय-अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा लगाातार छाइरहेको छ । नछाउन् पनि किन, आखिर उनी जन्मदै हीराजडित सुनको चम्चा मुखमा लिएर जन्मिएका हुन् ।
बादशाहका छोरा, अर्थात् बलिउडमा सर्वाधिक कमाइ गर्ने मुम्बई फिल्म इन्डस्ट्रीका सर्वाधिक धनी कलाकार शाहरुख खानका छोरा आर्यन खान । यद्यपि अहिले उनको परिचय आर्यन खानका रुपमा हुँदैन । उनलाई सम्बोधन गर्दा कैदी नम्बर नौ सय छपन्न भनेर सम्बोधन गरिन्छ । हो, भारतका जेलमा कैदीहरुलाई परिचय नम्बर दिइन्छ र त्यही नम्बरले बोलाइन्छ । हरेक कैदीले पाउने यो नम्बरलाई बन्दी नम्बर वा कैदी नम्बर भनिन्छ ।
शाहरुख खानका छोरा आर्यन खानले हिजो (बिहीबार) पनि जमानत पाएनन् । यसको अर्थ उनी अब थप केही दिन आर्थर रोड जेलको अतिथि रहनेछन् । आर्यनको जमानत याचिकामा मुम्बई सेसन कोर्टले अक्टोबर २० मा (कात्तिक ३ गते बुधबार) मात्र फैसला दिनेछ । त्यतिन्जेल उनलाई चिन्ने, बोलाउने नम्बर यही हुनेछ- कैदी नम्बर नौ सय छप्पन्न । यद्यपि आर्यनले जेलको लुगा लगाउनुपर्ने छैन । उनले आफ्नै पहिरन प्रयोग गर्न सक्छन् तर उनको ओढ्ने-ओच्छाउनेहरुचाहिँ जेलकै हुनेछ । जेल प्रशासनले उनलाई त्यसका लागि तन्ना र कम्बल दिइसकेको छ । लागुऔषधसम्बन्धी मामिलामा गिरफ्तार भएपछि सुरुमा उनी क्वारेन्टिनमा राखिएका थिए । पीसीआर जाँचपछि उनलाई गत बुधबार जेलमा सारिएको थियो ।
आर्यन खानले जेलमा अस्ति ४५ सय भारुको मनी अर्डर पनि प्राप्त गरे । उक्त मनी अर्डर उनका पिता शाहरुख खानले पठाएका थिए । जेलको नियम मुताबिक, एकजना कैदीले महिनामा केवल ४५०० को मनी अर्डर मात्र बुझ्न सक्छन् । उक्त रकम जेलभित्र भएको क्यान्टिनमा खर्च गर्न सकिन्छ । आर्यनले मनी अर्डर बुझेपछि जेलभित्र बिस्कुट, पानी र स्न्याक्स किनेको बताइन्छ । खासमा यी धनी कैदी आफ्ना बाबुबाट महिनामै बीसौं लाख रुपैयाँ पकेट मनीबापत् प्राप्त गर्छन् र उनीसँग करोड रुपैयाँमाथिका आधा दर्जन जस्तो गाडी पनि छन् ।
गएको २ अक्टोबरको रात मुम्बईको समुद्रमा भइरहेको क्रुज पार्टीमा एनसीबीले छापा मारी आर्यन खानलाई गिरफ्तार गरेको थियो । आर्यनका साथ अरु थुप्रै मानिस पनि पक्राउ परेका थिए । क्रुजमा ड्रग्स पार्टी चलिरहेको सूचनाका आधारमा उक्त छापा मारिएको थियो । गिरफ्तारीपछि आर्यनसहित सबै आरोपीलाई एनसीबीको हिरासतमा राखियो भने पछि अदालतले उनीहरुलाई १४ दिनको न्यायिक हिरासतमा पठायो ।
आर्यनका वकिल पनि सर्वाधिक महँगा सेलिब्रिटी वकिल हुन् जसले अदालतसमक्ष आर्यन उक्त ड्रग्स पार्टीको सेलिब्रिटी गेस्ट मात्र भएको र उनको साथबाट कुनै प्रकारको लागुऔषध फेला नपरेको दाबी गरिरहेका छन् । जे होस् अहिले थप केही दिनलाई आर्यन खान मुम्बईको आर्थर रोडस्थित सेन्टर जेलमा कैद छन् । त्यहाँ उनको परिचय शाहरुख खानको छोराका रुपमा हुँदैन, न त जेलमा उनलाई उनको नामले नै बोलाइन्छ । त्यहाँ त उनी केवल एउटा नम्बर हुन् अर्थात कैदी नम्बर-९५६ ।
प्रतिक्रिया