शुक्रबार, जेठ ४, २०८१

फ्लासब्याक– २०२२: बलिउडका शीर्ष कलाकार, को हिट को फ्लप ?

नेपालखोज २०७९ पुष १२ गते १४:३९

काठमाडाैं । विगत पाँच–छ वर्षदेखि तीव्र गतिमा दौडिरहेका अक्षय कुमार यो वर्ष तल खस्किएका छन् । उनले यो वर्ष फ्लप फिल्महरूको थुप्रो लगाए । उनका कतिपय चलचित्र यति नराम्रो सँग पछारिए कि त्यसले निर्माताहरुको आत्मा नै हल्लायो । उनको कठपुतलीले ओटीटीमा दर्शक फेला पारेन। अक्षयले बच्चन पाण्डे, सम्राट पृथ्वीराज , रक्षाबन्धन, राम सेतु जस्ता विभिन्न विधाका फिल्म दिने प्रयास गरे तर ती सबैलाई दर्शकले अस्वीकार गरे ।

अक्षयको अभिनयको आलोचना पनि भयो किनभने उनी बच्चन पाण्डे बने पनि पृथ्वीराज बने पनि सबै फिल्ममा उनको अभिनय एकै खालको रहयो । यसले अक्षयको लोकप्रियतामा समेत तीव्र गिरावट ल्यायो । उता ३ वर्षपछि ऋतिक रोशनको नयाँ फिल्म आयो ‘विक्रम वेधा ’ तर दर्शकलाई यो फिल्म मन परेन । यसपटक ऋतिकको शैली उनका प्रसंसकहरुले मन पराएनन् । कम फिल्ममा काम गर्नु र त्यो पनि फ्लप हुनु ऋतिकका लागि भारी साबित भइरहेको छ ।

चार वर्षपछि यो वर्ष रणवीर कपुरका दुई फिल्म रिलिज भए । ‘शमशेरा’ नराम्रो फिल्म थियो र फ्लप हुने निश्चित थियो । ‘ब्रह्मास्त्र’ को सफलताले बलिउड र रणवीरमा आत्मविश्वास जगाएको छ । बहिष्कार अभियानले यो फिल्मको समेत होस उडाएको थियो। व्यक्तिगत जीवनको कुरा गर्दा यो वर्ष रणवीरका लागि अविस्मरणीय रह्यो । उनी बिबाह गरेर बाबु पनि बने ।

अजय देवगन गंगुबाई काठियावाडी र आरआरआरमा विशेष भूमिकामा देखा परेका थिए। निर्देशक र नायकका रुपमा उनको ‘रनवे ३४’ फ्लप भयो । अजयले किन गरे ‘थ्याङ्क गड’ जस्तो फिल्म ? भन्ने प्रश्न पनि उठयो । वर्षको अन्त्यमा दृश्यम – २ आयो र त्यसले नै अजयलाई बचायो । दृश्यम- २ बक्स अफिसमा सुपरहिट साबित भयो । समग्रमा यो वर्ष अजयका लागि मिश्रित रह्यो ।

कार्तिक आर्यनले २०२२ मा फिल्म ‘भुलभुलैया- २’ का रुपमा आफ्नो करियरको सबैभन्दा ठूलो हिट फिल्म पाए । यो फिल्मपछि कार्तिकको लोकप्रियता बढ्यो र उनी धेरै चर्चित स्टारहरुका लागि खतरा बने । ओटीटीमा रिलिज भएको ‘फ्रेडी’ र कार्तिकको अभिनयको पनि प्रशन्सा भयो । नग्न तस्बिरका कारण बिबादमा आएका रणवीर सिंहको ‘जयेशभाई जोरदार’ को असफलताले उनलाई दिउँसै तारा देखायो भने ‘सर्कस’ ले उनको करियर नै धरापमा पुर्यायो ।

आयुष्मान खुरानाको गाडी लिकबाट खसेर खाल्डोमा खस्यो । उनले फ्लप माथी फ्लप फिल्म दिइरहे । अहिले उनी डाक्टर जी , एक्शन हिरोजस्ता आफ्ना चलचित्रको नाम पनि सुन्न मन पराउँदैनन् । आफ्नो करियरको सुरुवातमा वरुण धवनले लगातार यति धेरै हिट फिल्म दिए कि यो मान्छेको कुनै पनि फिल्म फ्लप हुन सक्दैन भन्ने लाग्थ्यो । अहिले उनी फ्लप माथी फ्लप दिइरहेका छन । जुग जुग जियोको प्रदर्शन अपेक्षाभन्दा कम थियो। उनको अर्को चलचित्र पनि हलबाट छिट्टै उत्रियो ।

थाहा छैन कति वर्षमा आमिर खानको नयाँ चलचित्र ‘लाल सिंह चड्ढा’ रिलिज भयो । यो फिल्म यति नराम्रोसँग फ्लप भयो कि आमिर स्तब्ध भए । त्यस पछि उनी दुई–तीन महिना विदेश तिर अलमलिए । आमिरले अब अभिनयलाई बिदा समेत गरेका छन्।
कमेडी सिद्धार्थ मलहोत्राको काम होइन भनेर पनि यहि वर्ष साबित भयो । उनले यस्ता फिल्मबाट टाढै रहनुपर्छ । बाँकी समय उनि कियारा अडवाणि सँगको रोमान्स मै मस्त रहे ।

जोन अब्राहम आफ्नै तालमा मग्न छन् तर त्यसले उनलाई कुनै फाइदा भएन। ‘अटैक’ असफल भयो र ‘एक भिलेन रिटर्न्स’लाई पनि दर्शकले रिजेक्ट गरे । निर्माताको हैसियतमा जोन ‘तारा भर्सेस बिलाल’ मा पनि असफल भए । राजकुमार रावको ‘बधाई दो’ ले बधाई पाएन । उनको ‘हिट: द फर्स्ट केस’ पनि फ्लप भयो। ओटीटीमा रिलिज भएको ‘मोनिका, ओ माई डार्लिंग’ ले राजकुमारलाई अलिकति चर्चामा ल्यायो।हिरोपन्थी- २ को भाग्य देखेर टाइगरले अब यस्तो फिल्म नगर्ने सोचेको हुनुपर्छ। यो समयको माग पनि हो ।

मलाइकाको संगतले अर्जुन कपुरलाई लाइमलाइटमा राख्यो । फिल्मको नाममा अर्जुन कपुरले ‘एक भिलेन रिटर्न्स’ जस्तो फिल्म पाए जुन असफल भयो । अर्जुन कपुरका झुण्ड, गुडबाय र हाइटले बक्स अफिसमा सफलता हासिल गर्न सकेनन् । बिग बी अर्थात अभिताभ बच्चन रनवे ३४ र ब्रह्मास्त्रमा महत्त्वपूर्ण भूमिकामा देखा परे भने यो वर्ष उनको गुजराती फिल्म लगे हात पनि आयो । यसबाहेक उनको टिभी शो केबीसी अझै चलिरहेको छ ।

कबीर सिंहदेखि शाहिद कपूरको करियर गायब छ। यता ‘जर्सी’ करोडौंको लागतमा तयार पारिएको थियो तर दर्शकले मूल फिल्म टिभीमा यति धेरै पटक हेरे कि हलमा पुगेर जर्सी लगाउनै मानेनन् । सलमानले ‘गडफादर’ मा सानो भूमिका निर्वाह गरे अनि पछि बिग बोसको होस्ट बने । अहिले सलमान र शाहरुख खान २०२३ लाई यादगार बनाउन व्यस्त छन् ।

प्रतिक्रिया