बिहीबार, वैशाख १३, २०८१

के–हो निद्रा, कति सुत्ने ?

नेपालखोज २०७८ असोज २९ गते १०:४१

हिजोआज जो केही पनि आफ्नो जीवनमा व्यस्त नै हुन्छन् । हर व्यक्तिको दैनिकी व्यस्त छ । व्यस्तसँगै कतिपयमा तनाव पनि उत्तिकै रहेको हुन्छ । जसले गर्दा मानिसहरूमा अनिद्राको समस्या देखापर्ने गरेको छ । हामी हरकोहीलाई आजको भन्दा पनि भोलिको बारेमा चिन्ता भइरहेको छ । जसले गर्दा हामीलाई दैनिक रूपमा अल्छी, अनिद्रा र थकानले सताइरहेको हुन्छ ।

दिनभरि चलायमान भएको शरीर रातमा आराम गरेर भोलिपल्ट फेरि सक्रिय हुन्छ, यसका लागि मानिस निदाउन जरुरी छ । एक स्वस्थ मानिस हुनलाई कम्तिमा ६ देखि ८ घण्टा निदाउनु उत्तम मानिन्छ । शरीरलाई ताजा, फूर्तिलो, तन्दुरुस्त र स्वस्थ्य राख्न निद्रा अपरिहार्य छ । निद्राले हाम्रो शरीर र मस्तिष्कलाई विश्राम दिन्छ । तर, आजभोलि कतिपय मानिसलाई निद्रा नलाग्ने समस्या भइरहेको हुन्छ । सुत्ने समयमा निद्रा नपर्नु, निद्रा परे पनि राति ब्युझनु र फेरि सुत्न नसक्नु, बिहान अति चाँडै आँखा खुल्नु अनिद्राको लक्षण हुन् । उमेर बढ्दै गएपछि अनिद्राको समस्या हुन्छ भन्ने डाक्टरहरू बताउँछन् । अनिद्रा भयानक समस्या हो, जो अनेक रोगको कारण बन्छ ।

खासगरी अनिद्राको कारण मधुमेह, उच्च रक्तचापदेखि तौल बढ्नेसम्मको खतरा हुन्छ । अनिद्राका कारण शरीरमा कर्टिसोल हर्मोनको उत्पादनमा वृद्धि हुन्छ । जसले शरीरमा चिनीको मात्रा बढाउने काम गर्छ । त्यसैले राम्रोसँग निद्रा नपर्ने व्यक्ति मधुमेहको जोखिममा हुन्छन् । अनिद्राका कारण उच्च रक्तचापको समस्या पनि हुन सक्छ । अनिद्राको समस्या निरन्तर रहे मुटुसम्बन्धी रोगको खतरा पनि बढेर जान्छ । अनिद्राका कारण सम्झने शक्तिमा पनि कमी आउनुका साथै मानसिक अस्थिरतासमेत निम्त्याउँछ । अनिद्राले गर्दा बिहान उठ्दा स्फूर्तिको अनुभूति नहुने, दिनमा निद्रा लाग्ने, काममा मन नजानेलगायत समस्या हुन्छ । अनिद्रा र यसबाट उत्पन्न हुन सक्ने सबैखाले शारीरिक तथा मानसिक समस्याबाट बच्नका लागि व्यवस्थित जीवनशैली अवलम्बन गर्नुपर्छ ।

कसरी पाउने निद्रा ?
आनन्दको निद्राका लागि शारीरिक गतिविधिलाई बढाउनुहोस् । घरको काम गर्ने, हिँड्ने, खेल्ने, व्यायाम गर्ने जस्ता कामहरू गर्नुहोस् । बिहान चाँडै उठ्ने र मर्निङवाकमा निस्कने गर्नुहोस् । सुत्ने समय निश्चित गर्नुहोस् । सुत्नुअघि हल्का व्यायाम गर्नुहोस् । गहिरो निद्राका लागि ओछ्यान आरामदायक हुनुपर्छ । मध्यम श्रेणीको मुलायम बिछ्यौनामा सुत्नुपर्छ । धेरै मुलायम बिछ्यौनामा कम्मर एवं ढाड दुख्ने समस्या हुनसक्छ । धेरै मुलायम र धेरै कडा बिछ्यौना मेरुदण्डका लागि पनि उपयोगी हुँदैन । सिरानी धेरै अग्लो वा होचो हुनु हुँदैन । केवल चौडा सिरानी प्रयोग गर्नुपर्छ ।

सम्भव भएसम्म खुट्टाको भागलाई थोरै उँचो बनाउनुहोस् । सुत्नासाथ निद्रा लाग्दैन भने केही पढ्ने अभ्यास गर्नुहोस्, मधुर संगीत सुन्नुहोस् । मन र मस्तिष्कलाई शान्त र एकाग्र बनाउने अभ्यास गर्नुहोस् । गहिरो श्वास लिने र छाड्ने प्रक्रिया दोहो¥याउनुहोस् । धेरै शारीरिक मिहिनेत र कम तनाव नै गहिरो निद्राको अचुक प्राकृतिक तरिका हो । सुत्ने कोठामा टेलिभिजन, कम्प्युटर, मोबाइल आदि नराख्नुहोस् । सुत्नुअघि धेरै पानी पिउनु हुन्न । पटक–पटक पिसाब लाग्ने भएकाले निद्रा बिथोलिन्छ ।

सुत्ने समयमा चिया, कफी, मादक पदार्थ भने कदापि सेवन नगरौं ।

प्रतिक्रिया