शनिबार, वैशाख २९, २०८१

तल्लो साञ्जेन जलविद्युत् आयोजनाको संरचना निर्माण पूरा

नेपालखोज २०७८ कार्तिक १ गते ९:२०

रसुवा । उत्तरी रसुवाको चिलिमे इलाका क्षेत्रमा निर्माणाधीन तल्लो साञ्जेन जलविद्युत् आयोजनाको अधिकांश संरचना निर्माण पूरा भएको छ ।

बयालीस दशमलव पाँच मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सन् २०१३ बाट सुरूआत भएको उक्त आयोजनाले तीन हजार ६३० मिटर हेडरेस् सुरुङ, एक हजार ५१ मिटर उचाइको सर्ज ट्यांक, ४७८ मी पेनस्टक सुरूङ तथा विद्युत्गृहसमेत निर्माण सम्पन्न गरिसकेको छ ।

विद्युत्गृहमा पानी ल्याउने सुरूङको निर्माणपश्चात् कङ्क्रिट तथा पेनस्टक सुरूङमा पाइप राख्ने कामसमेत धमाधम अगाडि बढिरहेको आयोजनाले जनाएको छ ।

संरचना निर्माणको समग्र प्रगति ८४ प्रतिशत पूरा भए तापनि विद्युत् गृहभित्र कामको जिम्मालिने डिइसी नामक चिनियाँ कम्पनीका प्राविधिक नआएका कारण उपकरण जडानको काम बिलम्व हुँदै गएको बताइएको छ ।

आयोजना प्रमुख अर्पणबहादुर सिंहले छिटोभन्दा छिटो उपकरण जडान गरिदिन प्राविधिक समूहसँग संवाद भइरहेको जानकारी दिए । उपकरण जडानको प्रगति ५० प्रतिशत हासिल गर्नुपर्ने समय बितिसक्दा कामको जिम्मा लिने सो कम्पनीका प्राविधिकले भने कोरोनाको समस्या देखाइ कार्यस्थलमा आउन आनाकानी गरिरहेको जनाइएको छ ।

विद्युत्गृहमा जडान हुने चौसठ्ठी प्रतिशत उपकरण आयोजनाको निर्माणस्थलमा ल्याइसकिएको र बाँकी सामग्री ल्याउने तयारी गरिएको बताइन्छ ।

उक्त विद्युत् आयोजना सम्पन्न गर्न प्रतिमेगावाट रु १२ करोड ६३ लाख खर्च हुने लागत अनुमान गरिएको आयोजना प्रमुख सिंहले जानकारी दिए ।
विद्युत्गृहको उपकरण जडानका लागि कार्य प्रारम्भ भएको मितिले लगभग एक वर्ष लाग्ने भएकाले जडानकर्तालाई छिटो आइदिन ताकेता भइरहेको बताइन्छ ।

यस्तै १४ दशमलव आठ मेगावाटको माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाले पनि निर्माण गर्नुपर्ने ९८ प्रतिशत संरचना तयार पारी उपकरण जडानका लागि चिनियाँ प्राविधिकको प्रतीक्षा गरिरहेको छ ।

प्रतिक्रिया