नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
नेपालका अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेरले नेपालमा पहिलोपटक विश्वविद्यालयको अवधारणा ल्याएको पाइएको छ । नेपालमा विश्वविद्यालय खोल्ने तयारी शमशेरले २००४ सालमै गरेको भेटिएको हो ।
नेपालका नयाँ श्री ३ महाराज एवम् प्रधानमन्त्री भएका मोहन शमशेरको सिन्दूरजात्रा हनुमानढोका दरबारमा भएको बेलामा मोहन शमशेरले आफ्नो आगामी नीति तथा कार्यक्रमलाई समेटेर वक्तव्य जारी गर्दा विश्वविद्यालय स्थापना गर्ने विषय यसरी लेखेका थिए – ‘उच्च शिक्षाको पनि नितान्त आवश्यकता भएकाले नेपालमा एक विश्वविद्यालयको स्थापना गर्ने हाम्रो लक्ष्य छ ।
यसका लागि कस्तो बन्दोबस्त चाहिन्छ, सबै कुरा विचार गरी एक मोटामोटी योजना खडा गरेर हाम्रा हजुरमा सकभर चाँडो जाहेर गर्नका लागि एक विश्वविद्यालय योजना जाँचसभा (कमिसन) मुकर्रर हुनेछ । यसबाट चाँडो काम भई हाम्रो अभिलाषा सफल हुनेछ भन्ने आशा गरिबक्सेका छौँ ।”
पछि शिक्षा विभागका तत्कालीन डाइरेक्टर जनरल मृगेन्द्र शमशेरको नेतृत्वमा २५ सदस्यीय विश्वविद्यालय योजना सभाको गठन पनि भएको इतिहास भेटिन्छ ।
विजय शमशेर उपाध्यक्ष रहेको उक्त समितिका सदस्यहरूमा लेक सुवणर् शमशेर, नायब बडागुरुज्यू हेमराज पण्डित, गुरु नयनराज धर्मशास्त्राचार्य, मेक बालकृष्ण (सम) जबरा, लेक खड्गनर्सिंह राणा, जीतेन्द्रबहादुर शाह, यज्ञबहादुर बस्नेत, सूर्यजङ्ग थापा, गुञ्जमान सिंह, रुद्रराज पाण्डेय, नरेन्द्रमणि आदी, सिद्धिमणि आदी, भीमबहादुर पाँडे, प्रो. हृषीकेश शाह, बोधविक्रम अधिकारी, प्रो. सुधीरकुमार राय चौधरी, प्रो. क्षितीशचन्द्र चक्रवर्ती, प्रो. आशुतोष सेन, प्रो. आशुतोष गाङ्गुली, प्रो. भवनाथ उपाध्याय, प्रयागराज पाण्डे, वेदनाथ र गजानन्द देवरात रहेका थिए ।
उक्त समितिको उद्देश्य ‘नेपालमा उच्च शिक्षाको उन्नति र अनुसन्धान गर्ने विश्वविद्यालय स्थापनाका लागि योजना बनाई श्री ३ महाराजका हजुरमा पेस गर्ने’ भन्ने थियो ।
मृगेन्द्र शमशेरले इन्डियामा पत्राचार गरी त्यहाँको विश्वविद्यालयको ऐनसमेत प्राप्त गरिसकेको इतिहासमा भेटिन्छ । तर त्यो समयमा विश्वविद्यालयको काम अघि बढ्न सकेको थिएन ।
प्रतिक्रिया