कर्णालीमा उर्लियो बाढी, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन ‘अलर्ट’

काठमाडौं । बर्दिया र कैलालीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन नेपाल बाढी सूचना केन्द्रले सर्वसाधारणलाई आग्रह गरेको छ ।
बाढी सूचनाका अनुसार कर्णाली नदीको चिसापानीस्थित बाढी मापन केन्द्रमा आज (मंगलबार) बिहान ६:२५ बजे जलसतहको सतर्कता तह १० मिटर पुगेको छ । साथै यो बढ्दो क्रममा रहेकाले केन्द्रले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन सर्वसाधारणमा ‘अलर्ट’ गरेको छ ।
हाल देशभरका अधिकांश भू-भागमा आज सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । प्रदेश १ र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षासमेत भएको छ । हाल बंगालको खाडीमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थानका साथै वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागहरुका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ । सुदूरपश्चिम र प्रदेश १ का केही स्थान र प्रदेश २, लुम्बिनी र कर्णालीका थोरै स्थान तथा वाग्मती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ ।
प्रदेश १ र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षा, हिमाली क्षेत्रमा हिमपात
राति भने देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ । प्रदेश १ र लुम्बिनी प्रदेशका थोरै स्थान, वाग्मती, गण्डकी र सुदूरपश्चिमका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ ।
यस्तै महाशाखाले सुदूरपश्चिम र प्रदेश १ का केही स्थान र प्रदेश २, लुम्बिनी र कर्णालीका थोरै स्थान तथा वाग्मती प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनसमेत सर्वसाधारणमा अनुरोध गरेको छ ।

प्रतिक्रिया