झापामा पेट्रोलको हाहाकार

झापा । झापामा दुई दिनदेखि पेट्रोलको हाहाकार भएको छ । भारतले पूर्वी नेपालको चारआली डिपोका लागि पेट्रोल कम पठाउन थालेपछि झापामा पेट्रोल अभाव भएको हो ।
इन्डियन आयल कर्पोरेसनको सिलिगुडी डिपोले नेपालको पूर्वी जिल्लाहरूको माग अनुसार पेट्रोल नपठाइदिएपछि अहिले झापालगायत पूर्वी नेपालका पेट्रोल पम्पहरूले पेट्रोल वितरण गर्न सकिरहेका छैनन् ।
मेची पेट्रोलियम डिलर्स एसोसिएसनका अनुसार अहिले झापा, इलाम, पाँचथर तथा ताप्लेजुङका लागि साँढे ७ सय किलो लिटर पेट्रोलको माग छ । तर भारतको सिलिगुडी डिपोले शनिवार डेढ सय किलो लिटर पेट्रोल मात्र नेपाल पठाएको नेपाल आयल निगम चारआली डिपोका प्रमुख भीम विश्वकर्माले बताए ।
‘भारतबाटै चाहिए जति पेट्रोल नेपाल आएको छैन । हाम्रो च्यानलबाट भारतमा कुरा गर्ने काम भइरहेको छ,’ उनले भने । दसैँ लागे लगत्तै भारतले पेट्रोल कम पठाउन थालेको मेची पेट्रोलियम डिलर्स एसोसिएसनले जनाएको छ ।
पेट्रोल नहुँदा कतिपय व्यापारीहरूले लुकिछिपी कालोबजारी समेत गर्न थालेका छन् ।
प्रतिक्रिया