‘सरकारी अस्पतालका चिकित्सकको सुविधा थप गरिने’

नेपालखोज २०७८ कार्तिक २ गते ११:४३


काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई बाहिर काम गर्नु नपर्ने गरी सुविधा दिने तयारीमा सरकार लागेको जानकारी दिएका छन् ।

प्राथमिक स्वास्थ्य केन्द्र शिवनगरको अनुगमन र निरीक्षणपछि आयोजित कार्यक्रममा उनले सरकारी अस्पतालमा कार्यरत चिकित्सकको सुविधा थप गरिने बताए।

पूर्व स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री श्रेष्ठले यसका लागि समिति बनाएर आवश्यक प्रक्रिया अघि बढाइसकेको जानकारी दिए ।

उनले अस्पताल जनताले सेवा लिन सक्ने र चिकित्सक जान र बस्न सक्ने स्थानमा निर्माण गरिनुपर्नेमा जोड दिए । देशभरका ७५३ पालिकामा अहिले पालिकास्तरीय अस्पताल निर्माणको काम भइरहेको जनाउँदै राज्यमन्त्री श्रेष्ठले अस्पताल निर्माण गर्दा योजना बनाएर गर्नुपर्ने बताए ।

भरतपुर महानगरपालिका–१४ का वडाध्यक्ष ओमप्रसाद पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष बाबुराम दाहाल, वडा सदस्य प्रकाश गुरुङ र डा. सागर पौडेलले अस्पतालका बारेमा जानकारी गराएका थिए ।

शिवनगर र शारदानगर स्वास्थ्य केन्द्रलाई पालिकास्तरीय अस्पतालका रुपमा विकास गरेर सञ्चालनमा ल्याइएको हो । – रासस

प्रतिक्रिया