विवेकशील साझाद्वारा शोक प्रस्ताव पारित

नेपालखोज २०७८ कार्तिक २ गते १३:३८


काठमाडौं । विवेकशील साझा पार्टीले आफ्ना केन्द्रीय सदस्य रमेश महर्जनको निधनले सिङ्गो पार्टी पंक्ति स्तब्ध र मर्माहत भएको जनाएको छ ।

पार्टीको आज बसेको आकस्मिक केन्द्रीय समितिको बैठकले महर्जनको निधनप्रति गहिरो दुःख प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको सो पार्टीका प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एक साताअघि कोभिड–१९ सङ्क्रमण भएपछि ललितपुरको मेडिसिटी अस्पतालमा उपचार अवस्थामा महर्जनको सोमबार निधन भएको थियो ।

वि.सं २०७४ मा तत्कालीन साझा पार्टी स्थापना हुँदा संस्थापक केन्द्रीय सदस्य रहेका महर्जन हाल उक्त पार्टीको केन्द्रीय सदस्य एवम् व्यवसाय विभाग प्रमुखका रुपमा सक्रिय थिए ।

गत स्थानीय तहको निर्वाचनमा उनले पार्टीका तर्फबाट ललितपुर महानगरपालिकाको नगरप्रमुख पदका लागि प्रतिस्पर्धा गरेका थिए ।

वि.सं २०७२ को भूकम्पपछि उनले पाटनमा नेवाः वास्तुकलामा आधारित ‘पिलाछे’ पुनर्निर्माण तथा पर्यटन प्रवद्र्धन परियोजनाअन्तर्गत लगभग १०० वटा घरको पुनर्निर्माणको परिकल्पना तथा नेतृत्व गरेका थिए ।

साथै नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका अध्यक्ष तथा नेपाल श्रीलङ्का चेम्बर अफ कमर्सको अध्यक्ष पनि थिए ।

प्रतिक्रिया