‘धान खेतीले चलेकाे गुजारा पानीले चौपट बनायाे’

नेपालखोज २०७८ कार्तिक २ गते १३:५५

काठमाडाैं । आइतबारदेखि लगातारको वर्षाका कारण पाक्नै लागेको धानबालीमा क्षति भएपछि यहाँका किसान चिन्तित छन् । यसवर्ष जिल्लामा ४४ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएको छ ।

लगातारको पानीले धान बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहले जानकारी दिए । उनले भने ‘काटेका र काट्न बाँकी रहेका धानबालीलाई पानीले क्षति पुर्‍याएको छ ।’

जिल्लाका किसानले धान रोप्ने समयमा पनि मल खाद्य नपाएर सास्ती बेहोरेका थिए । किसान जसोतसो पाकेको बाली भित्र्याउने समयमा पानीले धानमा नोक्सान गरेपछि थप मारमा परेका छन् ।

“काटेको धान पानीमा डुब्यो भने दुई-तीन दिनमा टुसा उम्रिन्छ र खान नमिल्ने हुन्छ । अन्य आम्दानीको स्रोत छैन । धान खेतीले गुजारा चलेको थियो ।

पानीले सबै चौपट गरायो,” हरिवन नगरपालिका– २ का किसान रामपुकार महतोले गुनासो गरे । जिल्लामा यस वर्ष एक लाख ७६ हजार मेट्रिक टन फल्ने अनुमान गरिएको थियो ।

गत वर्षभन्दा यस वर्ष करिब १० प्रतिशत बढी धान फल्ने अनुमान केन्द्रले गरेको थियो । लगातारको वर्षाले केही प्रतिशत उत्पादन घट्न सक्ने आङ्कलन गरिएको केन्द्रका प्रमुख कुशवाहले बताए ।

पानीले खेतमा पाकेको धान बटुल्नै नमिल्ने गरी भिजेको छ । धेरै ठाउँमा किसानले धान काटेको दुई दिनमा खेतमा पानी भरिएको छ । धेरै किसानले पाकेको धान काट्न नपाएर खेतमै झर्ने अवस्थामा पुगेको हरिवन–५ का उमेश महतोले गुनासो गरे ।

लगातारको वर्षाका कारण पूर्व पश्चिम लोकमार्गका अधिकांश कलभर्टमा पानीको बहाव बढेको र यसबाट सवारी साधन आवतजावत गर्न समस्यामा परेका जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।– रासस

प्रतिक्रिया