महिला तथा मुस्लिम आयोगका पदाधिकारीले भेटे गृहमन्त्री, भने– दोषीलाई तत्काल कारबाही गरियोस्

काठमाडौं । बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि १२ दिनदेखि माईतीघरमा धर्ना बसिरहेका पीडित परिवारका सदस्यहरुलाई राष्ट्रिय महिला आयोग र मुस्लिम आयोगले भेटेको छ ।
पीडितको न्यायका लागि भन्दै नेपालगञ्जदेखि २० दिनको यात्रा गरेर काठमाडौं आइपुगेका १५ जना पीडित परिवारका सदस्य तथा महिला अधिकारकर्मीहरुले माइतीघरमा धर्ना दिएका उनीहरुलाई मंगलवार माइतीघरमा महिला आयोग र मुस्लिम आयोगका अध्यक्षहरुले भेट गरेका हुन् ।
पीडित परिवारले धोबी र कुर्मी दुबैको हत्यारालाई कारबाहीको माग गरेका छन् । पीडित परिवारसँगको भेटघाटपछि मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले पीडित परिवारका सदस्यहरुले घटनामा वासा कुर्मीको संलग्नता रहेको र उसलाई कारबाहीको माग गरेको बताए ।
उनले पीडितका कुराहरु गृहमन्त्री र आइजीपीसँग कुरा गरेर पीडित परिवारलाई तत्काल न्याय दिलाउन पहल गर्ने बताए ।
उनले स्थानीय सरकारले सही समयमा सही भूमिका खेल्न नसकेको कारण नै नेपालगञ्जदेखि पीडित परिवारका सदस्यहरु हिँडेर काठमाडौं आएको बताए ।
त्यस्तै राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले महिलामाथि भएको हिंसालाई समयमै सम्बोधन गर्नुपर्ने बताए ।
उनले पीडितलाई न्याय र पीडकलाई तत्काल कारबाही गर्नुपर्ने बताउँदै घटनाको छिटो भन्दा छिटो छानबिन गर्नुपर्ने बताए ।
अध्यक्ष पराजुलीले पीडितहरु नेपालगञ्जदेखि हिँडेर न्यायका लागि भन्दै काठमाडौंसम्म आइपुग्नु दुखद् भएको बताए ।

प्रतिक्रिया