इलामको सूर्योदयमा पहिरोले घरै बगायो, एकको मृत्यु, आमाछोरा बेपत्ता (तस्बिरसहित)

इलाम । लगातारको वर्षाका कारण पहिरो खसेर घर बगाउँदा इलाममा एक जनाको मृत्यू भएको छ । सूर्योदय नगरपालिका–३ मेहेलबोटेमा गए राती पहिरोले घर बगाउँदा उक्त घटना भएको हो ।

राती करिब ११ बजे सबैजना सुतिरहेको अवस्थामा अचानक पहिरो खसेर घर बगाएपछि प्रहरी चौकी गोर्खे र शसस्त्र प्रहरी सीमा सुरक्षा वल पशुपतिनगरको टोली उद्दार कार्यमा खटेको थियो । बगाएको घरबाट ३ जनाको सकुशल उद्धार भएको थियो भने अन्दाजी ४९ वर्षीया महिला नारायणीदेवी मोतेको शव बिहान फेला परेको थियो ।

लगातारको वर्षाले ठाउँठाउँमा पहिरो गएर स्थानीय र राजमार्गको बाटो तथा विद्युत आपूर्ति अवरुद्ध भएको छ । अझै क्षति हुनसक्ने भन्दै स्थानीय त्रासमा छन् ।

त्यस्तै, सूर्योदय–३ कै जिल भन्ने ठाउँमा पहिरोले घर बगाउँदा २ जना वेपत्ता भइरहेको प्रहरी चौकी गोर्खेले जनाएको छ । पहिरोले आमा र छोरा दुबैलाई वेपत्ता पारेको जानकारी प्राप्त भएको छ । उनीहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

घटनाबाट कति क्षति भयो भन्ने विस्तृत विवरण आउन बाँकी छ ।
तस्बिर : परशुराम बराल, इलाम

प्रतिक्रिया