महिला हिंसाका घटना रोक्ने गरी काम गर्छु : उमा रेग्मी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले हत्या, हिंसा र बलात्कारका घटना रोक्ने गरी काम गर्ने बताएकी छन् ।
पत्रकारसँग आज (बुधबार) कुराकानी गर्दै उनले भएका ऐन, कानूनको कार्यान्वयन र आवश्यकता अनुसार संशोधन गरेर महिला र बालबालिकामाथि हुने गरेका आपराधिक कार्य रोक्न आफू लागिपर्ने बताए ।
कानूनको पूर्णरुपमा कार्यान्वयन गर्नेतर्फ आफ्नो ध्यान केन्द्रित हुने उनले बताइन् । नेपाल महिला सङ्घकी केन्द्रीय अध्यक्षसमेत रहेकी रेग्मीले आफूले राजनीतिक जीवनमा महिला, बालबालिका र ज्येष्ठ नागरिकले भोगेका पीडा नजिकबाट बुझेकोले पनि यो मन्त्रालय रोजेको बताइन् ।
यससँगै महिलालाई राजनीतिक दल र सरकारी निकायमा ५० प्रतिशत प्रतिनिधित्व नगराएसम्म मुलुकमा परिवर्तन हुन नसक्ने उनले बताइन् ।
अर्को एक प्रसङ्गमा रेग्मीले अशक्त, अपाङ्गता, ज्येष्ठ नागरिकलाई घर–घरमा भत्ता दिने गरी मन्त्रालयले काम गर्ने बताइन् ।
बालबालिका कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको भन्दै उनले तत्काल खोपको व्यवस्थाका लागि मन्त्रालयले पहल गर्ने बताइन् ।
सडकमा बेवारिसे मानवमुक्त बनाउन सामाजिक सङ्घ संस्थासँग सहकार्य गरेर मन्त्रालयले काम गर्ने मन्त्री रेग्मीको भनाइ थियो ।

प्रतिक्रिया