सरकारले बाढी प्रभावितलाई ५० हजार राहत दिने

नेपालखोज २०७८ कार्तिक ३ गते १७:१५


काठमाडौं । सरकारले गत तीन दिन यता अविरल वर्षाका कारण बासस्थन भत्किएर बिचल्ली भएकाहरुलाई प्रतिघर ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको विपद् व्यवस्थापन परिषद्को बैठकमा बासस्थन भत्किएर बिचल्ली भएकाहरुलाई प्रतिघर ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो । बैठकपछि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले बुधबार मध्याह्‌नसम्म ५२ जनाको बाढी तथा पहिरोमा परेर निधन भएको बताउँदै तत्काल राहतका लागि सरकार लागि पर्ने बताए ।

उनले बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गएको तीन दिनमा नेपालले भोग्नुपरेको घटना दुखद् भएको बताउँदै सबै सरोकारवाला निकायहरुलाई तत्काल राहत र उद्धारमा खटिन निर्देशन दिएको बताए ।

प्रधानमन्त्री देउवाले बाढी, पहिरोले क्षति पुर्याएको स्थानमा आफैँ जाने बताएको कार्यकारी प्रमुख पोखरेलले बताए । बैठकमा तत्काल घटना भएका स्थानमा विभिन्न टिम बनाएर तत्काल बास र गासको व्यवस्था मिलाउने र क्षतिको विवरण निकाले लगत्तै राहत र उद्धार तथा पुनर्निर्माणका लागि खटिने बताए ।

उनले बाढी पहिरोमा जनधनको ठूलो क्षति भएको बताउँदै किसानहरुलाई तत्काल राहतको व्यवस्था गरिने बताए । कार्यकारी प्रमुख पोखरेलले पीडितको उद्धारका लागि अझै पनि पर्याप्त स्रोत, साधन नभएकाले धेरै क्षति भएको बताए । उनले बुधबार मध्याह्‌नसम्म ५२ जनाको निधन भएको र २० वटा घर पूर्ण रुपमा क्षति भएको प्रारम्भिक अनुमान रहेको पनि बताए ।
-तस्बिर : रासस

प्रतिक्रिया