‘नेतृत्वले मूल्य-मान्यताविपरीत काम गर्यो, त्यसैले पार्टी कमजोर बन्यो’

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेतृत्वले परम्परा र मूल्य-मान्यताविपरीत काम गरेकाले पार्टी कमजोर भएको बताएका छन् । धादिङमा बिहीबार भएको कांग्रेस धुनिबेंसी नगर समितिको कार्यालय उद्घाटन कार्यक्रममा नेता सिंहले १३औं महाधिवेशनपछि पार्टीको नेतृत्वले विधिपद्धति र मूल्य-मान्यता पालना गर्न नसक्दा पार्टी कमजोर भएको बताए ।
उनले विधिसम्मत र संस्थागत रुपमा पार्टीलाई अगाडि बढाउन सक्षम नेतृत्वको आवश्यकता रहेको पनि बताए । पार्टीका सिनियर नेताहरुलाई सम्मान गर्ने तर अवसर पाउँदा पनि काम गर्न नसक्नेलाई नेतृत्व सुम्पिन नहुने उनको भनाइ थियो ।
साथै उनले पार्टीको आसन्न १४औं महाधिवेशन कुनै पनि हालतमा तोकिएकै मितिमा हुनुपर्ने बताए । ‘महाधिवेशन कुनै पनि हालतमा तोकिएकै मितिमा गर्नुपर्छ । क्रियाशील सदस्यता विधि र पद्धतिअनुसार वितरण हुनुपर्छ,’ उनले भने, ‘यसअघिको सहमतिअनुसारै पार्टीको अधिवेशन अगाडि बढाउनुपर्छ । यसमा नेतृत्वले ध्यान दिन जरुरी छ ।’
अधिवेशन त समयमै गर्न नसकेको कांग्रेसले कसरी देश विकास गर्न सक्छ, भनेर जनताले प्रश्न गर्न सुरु गरिसकेको उनको भनाइ छ । पार्टीलाई ठीक ठाउँमा ल्याउन विधि र पद्धतिको सबैले सही ढंगले पालना गर्नुपर्ने उनले बताए ।
पार्टी सभापतिको गृहजिल्लामा भएको महाधिवेशन प्रहरीको घेराभित्र भएकाले पार्टीको छवि बिग्रिएको उनको आरोप छ । अधिवेशन हुँदा सबैलाई पद चाहिने तर पदमा पुगिसकेपछि काम गर्न नसक्ने परिपाटी अब सुधार गर्नुपर्ने उनको भनाइ छ । राजनीति सेवाको क्षेत्र भएकाले मेवाको आश गरेर यस क्षेत्रमा लाग्न नहुने सिंहको भनाइ छ ।
गणेशमानको परिवारले सधैं त्याग मात्रै गरेको भन्दै अब पार्टीको नेतृत्व पनि गर्ने उनले दाबी गरे । पार्टीभित्रको ए-कांग्रेस बी-कांग्रेस र सी-कांग्रेस हटाउनुपर्ने उनको धारणा छ ।

प्रतिक्रिया