बुधबार, वैशाख १२, २०८१

‘कोभिड हटिसक्यो भनेर ढुक्क हुने अवस्था छैन’

विस्थापितहरुमा पानीजन्य रोगको जोखिम

मीना साउँद २०७८ कार्तिक ६ गते १२:३२

काठमाडौं । बाढी तथा पहिरो गएको स्थानमा कोरोना भाइरस संक्रमणका साथै अन्य पानीजन्य रोगको पनि जोखिम बढेको चिकित्सकहरुले औंल्याएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका चिकित्सक डा. शेरबहादुर पुनले यतिबेला बाढी-पहिरो पीडितहरुमा कोरोना भाइरस संक्रमणका साथै अन्य पानीजन्य रोगहरुको संक्रमण फैलिन सक्ने जोखिम रहेकाले आवश्यक सर्तकता अपनाउनुपर्ने बताएका छन् ।

गत शनिबारदेखि मंगलबारसम्म लगातार चार दिन परेको भारी वर्षाले देशका धेरैजसो ठाउँमा बाढी-पहिरो गएको छ । जसमा धेरैले ज्यान गुमाएका छन् भने कैयौं घाइते त केही अझै बेपत्ता छन् ।

बाढी-पहिरोका कारण सयौं घरपरिवार घरबारविहीन छन् । उनीहरुले यतिबेला ज्यान जोगाउन अहिले पनि विभिन्न विद्यालय, मठमन्दिर, खुला चौरलगायत ठाउँमा आश्रय लिएर बसिरहेका छन् । यसरी एकै ठाउँमा धेरै मानिस जम्मा हुँदा सरसफाइ र खानपिनमा ध्यान दिन नसकिएको खण्डमा विभिन्न खाले संक्रमणको जोखिम बढ्ने चिकित्सक बताउँछन् । विशेषगरी विस्थापितहरु सबै एकै ठाउँमा बस्ने हुँदा यस्तोमा एक अर्कामा भएको रोगहरु सर्न सक्ने सम्भावना रहनुका साथै खानपान स्वच्छ नहुनु, पानी सफा नहुनुलगायत कारणले कोरोना संक्रमणका साथै पानी जन्य रोगहरु लाग्ने सम्भावना रहने सरुवा रोग विशेषज्ञ डा. पुनले बताए ।

पानीजन्य रोगहरुमा विशेषगरी झाडापखाला, टाइफाइड, भाइरल हेपाटाइटिसका साथै लामखुट्टेको टोकाइबाट हुने डेंगुलगायत अन्य संक्रामक रोगहरुको जोखिम बढी हुने उनले बताए । यसबाहेक यो समयमा छालाजन्य रोगहरु पनि देखिन सक्ने डा. पुनले बताए । ‘यसरी विस्थापितहरु धेरै एकै ठाउँमा बस्दा एक-अर्कामा भएका रोगहरु सर्ने जोखिम अन्यन्तै रहन्छ । यसका लागि उहाँहरुलाई व्यक्तिगत सरसफाइमा ध्यान दिनुस्, पानी उमालेर मात्रै खानुस् भन्न त हामीले भनौंला तर उहाँहरुले यो सबै कुराहरुलाई तत्काल फलो गर्न सक्नु हुन्न,’ डा पुनले भने, ‘यसका लागि सफा पानी, ताजा अनि सुरक्षित खाना सम्बन्धित निकाय अथवा जो जसले सहयोग गरिरहुन भएको छ । उहाँहरुले त्यो कुराको ख्याल गरिदिनु पर्‍यो । अझ भन्नु पर्दा बटम लाइन भनेकै व्यक्तिगत सरसफाइ, शुद्ध पानी र सफा खानामा ध्यान दिन सकियो भने यी रोग लाग्नबाट बच्न सकिन्छ ।’

नेपालमा परेको बेमौसमी वर्षाले यतिबेला देशका १९ जिल्ला सबैभन्दा बढी प्रभावित छन् । जहाँ धेरैको ज्यान गइसकेको छ भने अझै धेरैको अवस्था अज्ञात छ । सरकारले बेपत्ताहरुको खोजी तथा उद्धारको कार्यलाई जारी राखेको छ । साथै घाइतेहरुको उपचार र विस्थापितहरुका लागि राहतको पनि व्यवस्था गरिरहेको छ । यस्तो अवस्थामा व्यक्तिगत सरसफाइमा ध्यान दिन नसकिएको खण्डमा थप अर्को संकट आइलाग्ने देखिन्छ ।

भर्खरै मात्र कपिलवस्तुको कृष्णनगरमा नयाँ झाडापखालाको प्रकोप नै फैलिएको थियो । जहाँ ४ जनाले अकालमै ज्यान गुमाए भने करिब एक हजारजना त्यसबाट प्रभावित भएका थिए । कृष्णनगरको उदाहरणलाई मात्रै लिने हो भने पनि अहिले बाढी-पहिरो प्रभावित क्षेत्रमा व्यक्तिगत स्वास्थ्यमा ध्यान दिन नसकिएको खण्डमा पीडितहरु संक्रमणको जोखिममा पर्न सक्छन् जो अहिले आफ्नो घरपरिवार गुमाएको पिरमा रोइरहेका छन् उनीहरुमा भोलि थप संकटको कालो बादल मडारिन सक्छ । त्यसैले चिकित्कले सुझाएअनुसार अन्य कुरामा नभए पनि व्यक्तिगत सरसफाइ, पिउने पानी र खानामा ध्यान दिन जरुरी छ, भने सम्बन्धित निकायले पनि यसबारे सचेत हुन आवश्यक छ ।

सरकारले पनि दूषित पानी तथा खानाका कारण हुने रोगबाट बच्न, सफा पानी र शौचालयको मात्रै प्रयोग गर्न सुझाव दिएको छ । सकेसम्म उमालेको पानी पिउन र त्यो सम्भव नभए पानीलाई निर्मलीकरण गरेर मात्र पिउन स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले सुझाव दिएका छन् । साथै, उद्धार गरिएका व्यक्तिलाई राखिने ठाउँमा आवश्यक दूरी कायम गराउन, शौचालय तथा सफा पानीको व्यवस्थापन गर्न सम्बन्धित पालिका र उद्धारमा जुटेकाहरुलाई पनि अनुरोध गरिएको छ ।

कोभिड हटिसक्यो भनेर ढुक्क हुने अवस्था छैन
त्यस्तै सरुवा रोग विशेषज्ञ डा. पुनले नेपालमा अहिले पनि कोरोना भाइरस संक्रमणको जोखिम पूर्णरुपले हटिसक्यो भनेर ढुक्क रहने अवस्था नरहेको बताएका छन् । अहिले पनि नेपालमा कोभिडको जोखिम कायमै रहेको हुँदा जनस्वास्थ्यका मापदण्डहरुको पूर्णरुपले पालना गर्न छोड्न नहुने उनले बताए । उनले भने, ‘नेपालमा कोभिडको जोखिम हटिसकेको छैन । जनस्वास्थ्यका मापदण्डको पालना अहिले पनि सबैले पूर्णरुपले गर्नु पर्छ ।’ बाढी पहिरो प्रभावितहरु धेरै एकै ठाउँमा बस्दा जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न गह्रो हुने भएकाले त्यहाँ कोभिड संक्रमण सर्न सक्ने जोखिम धेरै रहेको डा. पुनले बताए ।

यतिबेला पीडितहरुलाई सम्बन्धित निकायले मास्कको जोहो गरिदिनु पर्ने उनले बताए । ‘पीडितहरु एकै ठाउँमा बस्नुहुन्छ । त्यो ठाउँमा हामीले पालना गर्नुपर्ने मापदण्डहरु पनि लागु गर्न गाह्रो हुने भएकाले सर्न सक्ने सम्भावना रहिरहन्छ । यसका लागि सम्बन्धित निकायहरुले मास्कहरुको पनि जोहो गरिदिनुपर्छ,’ उनले भने, ‘हुन त बाढी पहिरोले ठूलो जनधनको क्षति भइसकेको अवस्थामा उहाँहरु आफ्नो तनावमा हुनुहुन्छ । कतिले मास्क लगाउनु हुन्छ लगाउनु हुन्न उहाँहरु आफ्नै तनावमा हुनुहुन्छ । तर पनि हामीले उहाँहरुलाई रोगको बारेमा जानकारी गराउने, सम्झाइ-बुझाइ गर्ने गर्नुपर्छ ।’

प्रतिक्रिया