बुधबार, जेठ २, २०८१

‘पहिले ज्यान दिन तयार हुन्थे, अहिले लिन तयार छन्’

ओम आचार्य २०७८ पुष २६ गते १७:४८

नेपाली कांग्रेसको १४औं महाअधिवेशनपछि कांग्रेस अहिले यस्तो मोडमा उभिएको छ, यस्तो चौबाटोमा खडा छ जहाँ यसले आफ्नो गन्तव्य हराएको, अलमलिएको र द्विविधामा भएको प्रतित हुन्छ । नेपाली कांग्रेसको १४औं महाअधिवेशनमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा. शशांक कोइराला, विमलेन्द्र निधि, डा. शेखर कोइराला सभापतिमा संस्थापन इतरबाट सम्भावित उम्मेद्‌वार थिए । अन्तिममा प्रकाशमान, विमलेन्द्र र डा. शेखर उम्मेद्‌वार हुँदै तीनैजनाले संस्थापन पक्षका विरुद्धमा ‘पुस्तान्तरण एवं रुपान्तरण’ भन्दै मोर्चाबन्दी गरेका थिए । यस्तो अवस्थामा संस्थापनबाट सभापतिका उम्मेद्‌वार शेरबहादुर देउवा पक्षले आफ्नै सहयात्रीविरुद्धबाट भएको मोर्चाबन्दीको प्रतिरक्षामा उभिनु परेको थियो भने अर्कातर्फ सरकारको भूमिका निर्वाह गर्नुपरेको थियो ।

पहिलो चरणको निर्वाचनमा सभापतिका कुनै पनि उम्मेद्‌वारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणमा शेर बहादुर देउवा र डा. शेखर कोइराला विच चुनावी प्रतिस्पर्धा भयो ।

पहिलो चरणको निर्वाचनमा नेतृत्व परिवर्तन हुनु पर्छ देउवा नेतृत्वबाट पार्टी चल्दैन भनिरहेका प्रकाशमान सिंह र विमलेन्द्र निधि दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई नै आश्चर्यजनक तरिकाबाट समर्थन गर्न पुगे । त्यति मात्रै होइन वरिष्ठ नेता रामचन्द्र पौडेल र डा. शशांक कोइरालासमेतको अप्रत्यक्ष समर्थन पनि देउवालाई नै हुन पुग्यो । अझ आश्चर्य त कोइराला विरासतको कुरा गर्ने शशांक र सुजता कोइरालाले समेत देउवा समूहलाई सहयोग पुर्याउने भएपछि सभापतिका उम्मेद्‌वार डा. शेखरलाई एउटै मालामा बाँधिएका तीन कोइरालाको माला टुक्रिएर एकता भंग भएको महसुस मात्र भएन उनले आफ्नो पराजयसमेत हुने देखेर दोस्रो चरणमा सभापतिको उम्मेद्‌वारी कायम राख्ने कि नराख्ने भन्ने विषयमा आफ्ना समूहमा छलफलसम्म गरे ।

राजनीतिमा नैतिकता र चरित्रको ठूलो महत्त्व छ यी दुई कुरामा जो अडिग रहन्छन् तिनीहरुको राजनीतिक पहिचान कायम रहन्छ । यद्यपि यसमा चिप्लिएर कति तल पुगिन्छ त्यसरी चिप्लिएर राजनीतिक भविष्य अँध्यारो बनाएकहरुलाई नै बढी थाहा हुन्छ ।

ग्रहण गरेपछि त्याग गर्नैपर्छ ! हामीले श्वास तान्दा अक्सिजन लिएपछि त्यो श्वासलाई कार्बनडाई अक्साइडका रुपमा त्याग पनि गर्छौं ! हामीले जल ग्रहण गरेपछि त्यसलाई मुत्रका रुपमा त्याग गर्छौं ! अन्न ग्रहण गर्छौं र मलका रुपमा त्याग गर्छौं ! यी सबै त्याग प्राकृतिक हुन् !

अहिले दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका प्रधानमन्त्री शेरबहादुर देउवाले शशांक, प्रकाशमान, विमलेन्द्र र सुजाताको शक्ति ग्रहण गरेका छन् । अब यो शक्ति ग्रहण गरेपछि त्याग त गर्नै पर्छ अब हेरौं त्यो त्याग कस्तो हुनेछ ? प्राकृतिक कि अप्राकृतिक ?
पार्टी सभापति देउवाले अब कस्तो प्रकारको त्याग गर्छन् त्यसबाटै उनलाई शक्ति गर्नेहरुको राजनीतिक भविष्य सुनिश्चित होला ।

संस्थापन इतरबाट रामचन्द्र पौडेलले नेतृत्व लिएका थिए भने त्यसमा प्रकाशमान, शशांक, सुजाता र डा. शेखरहरु एक ठाउँमा देखिन्थे । अब यो समीकरणसमेत भताभुंग भइसकेको स्थिति छ । संस्थापन इतर समूहको नेतृत्व वरिष्ठ नेता रामचन्द्रको हातबाट डा. शेखरको हातमा पुगेको संकेत केबाट पनि बुझिन्छ भने केही दिन सभापतिका पराजित उम्मेदवार डा. शेखरले बोलाएको आफ्नो समूहको भेलामा रामचन्द्रलगायत डा. शशांक, विमलेन्द्र, प्रकाशमान, सुजाता कोही पनि उपस्थित थिएनन् । उक्त भेलामा डा. शेखरले आफूलाई संस्थापन इतरको नेताका रुपमा उभ्याउँदै पार्टी सभापतिबाट भएका सदस्यहरुको मनोनय र केन्द्रीय सदस्यहरुको मर्यादाक्रमका विषयमा प्रश्न उठाएका थिए । उनले सभापतिको यो लाइक र डिसलाइकले पार्टीमा दुर्घटना हुनेसम्मको कुरा गरे भने रामचन्द्र, डा. शशांकहरु देउवाको मनोनयनमा मौनजस्तै देखिए ।

नेपाली कांग्रेसका नेताहरु प्रथमतः आफ्नो पार्टी सुदृढ गरी संस्थापन र संस्थापनइतरको भेद, हटाउन एक ढिक्का हुनुपर्नेमा फेरि एकपटक एक-अर्कालाई निस्तेज वा निषेध गर्ने, एक-अर्कालाई नेतृत्ववाट विस्थापित गर्ने रणनीतिमा लागेर संगठन कमजोर बनाउने काममा उद्दत भएजस्तो देखिन थालेको छ । यस्तो प्रवृत्ति वा खेल अहिले सबैले बन्द गरेर संगठन मजबुत बनाउन लाग्नु पर्ने आवश्यकता छ र यो कार्यका लागि सभापति जति जिम्मेवार छन् त्यति नै जिम्मेवार डा. शेखर पनि छन् ।

कांग्रेसको संगठन छैन भन्दा पनि हुन्छ । संगठन कमजोर र सुस्त छ । संगठन छ भन्नेहरुले यति बुझे हुन्छ कि कांग्रेसमा गठन छ तर संगठन छैन यही गठनलाई संगठन मान्नु नै कांग्रेसको भूल हो ।

कांग्रेसले कांग्रेसलाई जोड्न सकेको छैन, कांग्रेसले कांग्रेसमा अपनत्व महसुस गराउन सकेको छैन, कांग्रेस यस्तो पार्टी थियो जसका लागि मानिसहरुले ज्यान दिएका थिए, ज्यान दिन तयार हुन्थे तर अहिलेको कांग्रेसमा कांग्रेसहरु कांग्रेसकै ज्यान लिन तयार छन् । ज्यान लिनु भनेको मार्नु, हत्या गर्नु मात्र होइन । आफ्नो निहित स्वार्थ वा अभिष्ट पूर्तिका लागि आफ्नो सहयात्रीलाई निस्तेज गर्नु, नेतृत्वबाट विस्थापित गर्नु र पार्टीबाट पलायन हुन बाध्य तुल्याउनु पनि हत्या गर्नु, ज्यान लिनुसरह हो । हो, अहिले कांग्रेसमा यस्तै प्रवृत्ति मौलाइरहेको छ ।

अहिले कांग्रेसमा युवा पुस्ताको कुरा, पुस्तान्तरणको कुरा पनि चर्को रुपमा उठाइएको छ तर युवा पुस्ताले यस्ता कुरा उठाउँदा उनीहरु स्वयं भने कुनै न कुनै गुटमा रहेर यी कुरा गरेको पाइन्छ । कांग्रेसमा शेरबहादुर, रामचन्द्र, कृष्ण सिटौलाहरु ठूलो वृक्षका रुपमा देखिएका छन भने यिनै वृक्षको छायामा युवा पुस्ता हुर्किरहेको छ । छायामा रहेर युवापुस्ताले नेतृत्वको कुरा गर्नु पुस्तान्तरणको कुरा गर्नु आफैंमा स्वास्थ्य राजनीति मान्न यस कारणले सकिँदैन कि यसमा गुट/उपगुट जीवित देखिन्छ ।

छायाबाट मुक्त हुनुपर्छ । छायामा बसेर नेतृत्व विकास हुँदैन । छायामा बसुन्जेल, रहुन्जेल सधैं होचो भइन्छ त्यहाँ विकसित हुने वातवरण वृक्षले रोक्छ जसरी ठूला वृक्षको छायामा अन्य वनस्पति मौलाउँदैन, फस्टाउँदैन सेपमा पर्छ अहिलेको युवा पुस्ता त्यस्तै सेपमा छ । प्रथमत: युवा पुस्ता त्यो छायाबाट मुक्त भएर अघि बढ्नु आवश्यक छ । बीपीको विचार तथा कांग्रेसको चरित्र र संस्कार आफूमा रुपान्तरित गरेर अघि बढे पुस्तान्तरण पनि हुन्छ र रुपान्तरण पनि । अन्यथा युवा पुस्तामा नेतृत्व क्षमताको विकास हुँदैन, संगठनमा शुद्धि आउँदैन र गुट-उपगुटको अन्त पनि हुँदैन ।

कांग्रेसमा गुट-उपगुटको अन्त्यका लागि सबै एकजुट हुनुपर्छ । कांग्रेसको गठनलाई संगठनमा परिणत गर्दै पार्टी विधि-विधानले चलाएको अवस्थामा कांग्रेसले एक-अर्कामा अपनत्व सिर्जना गर्न सक्छ कांग्रेसले एक-अर्कालाई जोड्न सक्छ र यो कार्य गर्न अरु होइन सभापति देउवा नै लाग्नुपर्छ र अरु साथीहरुले यो कार्यमा अवश्य सहयोग गर्नेछन् ।

सभापति शेरबहादुर र डा. शेखरले एक-अर्कामा द्वेष राखे निश्चय पनि कांग्रेसले फेरि एकपटक घात-अन्तरघात सुन्नु र देख्नुपर्ने निश्चित छ । यस्तो दुर्घटना नहोस् ।
विराटनगर

प्रतिक्रिया