बिहीबार, वैशाख १३, २०८१

७०औं अंकसँगै ‘प्रजिअसँग शम्भुको’ पहिलो सिजन सकियो, यस्ता रहे अनुभव !

शम्भु रेग्मी २०७९ भदौ ६ गते १३:०९

‘प्रजिअसँग शम्भु’ नेपालखोज डटकममा हरेक सोमबार प्रकाशन तथा प्रसारण हुँदै आएको नियमित स्तम्भ हो । ७० अंकसम्म निरन्तरता पाएको प्रजिअसँग शम्भु स्तम्भ बिट मार्ने चरण आइपुगेको छ । यस दौरान मैले ७० जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग संवाद गरें । ७ महिला र ६३ पुरुष प्रजिअसँग कुराकानी गर्ने अवसर जुर्यो । १५औं अंकमा ललितपुरका तत्कालीन प्रमुख जिल्ला डुण्डीप्रसाद निरौलासँग भिडियो तथा बाँकीसँग टेलिफोन संवाद भयो । सरुवा समस्याका कारण केही अतिथि दोहोरिनुभयो । अँ सरुवा समस्या ! किनभने मैले संवाद गरेका एक-दुई बाहेक सबैले निजामती सेवाको प्रमुख समस्या नै सरुवा बताउनुभयो । सम्भव भएसम्म प्रजिअ र जिल्ला नदोहोर्‍याउने मेरो सोच थियो । भूगोल र जिल्ला फेर्ने/बुझ्ने चक्करमा अतिथि दोहोरिनुभयो । गज्जब संयोग ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीबाट प्रारम्भ गरिएको कार्यक्रम झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालसँग आएर टुंगियो । छविलाल दोहोरिने अतिथिमा पर्नुहुन्छ । साताको हरेक सोमबार प्रकाशन तथा प्रसारण हुने यो शृंखलाका लागि बुधबारदेखि नै प्रजिअसँग सम्पर्क गर्ने मेरो प्रयास हुने गर्थ्यो । बुधबारदेखि अन्तिम दिन आइतबारसम्म पनि कहिलेकाहीँ सम्पर्क हुन मुस्किल हुन्थ्यो । दिनमा ६ जना प्रजिअ सम्मलाई फोन सम्पर्क गर्दा कसैले प्रतिक्रिया नदिने, सम्पर्क भइहाले पनि सूचना अधिकारीसँग सम्पर्क गर्न वा सहायक प्रमुख जिल्ला अधिकारीसँग संवाद गर्नू भन्दै पन्छिने गरेको अनुभव पाइयो । यद्यपि एकाधबाहेक हरेक प्रजिअले ‘प्रजिअसँग शम्भु’ को शृंखलालाई यहाँसम्म पुर्‍याउनका लागि निकै साथ दिनुभएको छ । उहाँहरूको साथ र सहयोगकै कारण ‘प्रजिअसँग शम्भु’ को ७०औं शृंखला हामीले पाठकमाझ पस्किन सफल भयौं।

केही प्रजिअलाई सम्पर्क गर्दा सहज किसिमले भयो । केहीसँग सम्पर्क गर्न निकै प्रयास गर्नुपर्‍यो । व्यस्तताको कारणले केहीसँग भने सम्पर्क हुन धेरै समस्या भयो । कुन जिल्लाको सीडीओ उहाँ मलाई ठ्याक्कै याद भएन फिल्डमा जान लामो पैदल यात्राको बीचमा हुँदा पनि संवाद गनुभयो । सायद त्यसबेला उहाँ विपत् व्यवस्थापनमा जाँदै हुनुहुन्थ्यो । वार्ताको बीचमा स्वास फुलेर लामो स्वास फेर्नुहुन्थो । यस्तै २७औं अंकमा रुकुमका प्रजिअ लक्ष्मीप्रसाद बास्कोटासँग नेटवर्कको कारण संवादमा केही समस्या भयो । रुकुम जिल्लाभर नै नेटवर्कको समस्या रहेछ । जे होस् दुर्गम सुगम सबै जिल्लाका प्रजिअसँग कुरा भयो ।

मैले संवाद गरेकामध्ये अधिकांश प्रमुख जिल्ला अधिकारीको सरुवा एक जिल्लाबाट अर्को जिल्ला र मन्त्रालयसम्म भएको छ । तनहुँका तत्कालीन प्रजिअ सागर आचार्य भने अहिले राष्ट्रपति कार्यालयमा प्रवक्ताका रुपमा कार्यरत हुनुहुन्छ । कार्यक्रमको नाम नै प्रमुख जिल्ला अधिकारीसँग जोडिएकाले मैले जसरी पनि प्रजिअसँगको संवाद पाठकमाझ प्रस्तुत गर्नुपर्ने बाध्यता थियो । केही प्रजिअले फोन मुस्किलले उठाए पनि राम्रो रेस्पोन्स गर्नुभएको थियो । ‘प्रजिअसँग शम्भु’ प्रकाशन तथा प्रसारण भएपछि धेरैले खुसी व्यक्त गर्दै हौस्याउने, हाम्रा कुरा जनतासामु प्रस्तुत गरिदिएको भन्दै आभारसमेत व्यक्त गर्नु मेरा लागि खुसी र अवसर दुवै हो । सोमबार ‘प्रजिअसँग शम्भु’ प्रकाशन गरेपछि धेरैजसोले चासो राखेरै फोनबाटै भए पनि सल्लाह, सुझाव दिँदा आफूमा छुट्टै किसिमको सन्तुष्टि भएको महसुस हुँदो रहेछ । अनुभव गर्ने मौका पनि मिल्यो ।

७० जनासम्म कुराकानी गर्दा विभिन्न स्मरणीय अनुभव बटुल्ने अवसर मिलेका छन् । केही स्मरणीय पनि छन् । यसैक्रममा दाङका प्रमुख जिल्ला अधिकारीसँग कुराकानी गर्न गरेको प्रयास अलिक रोचक छ । कार्यक्रम सोमबार प्रसारण तथा प्रकाशन हुने कार्यसूची थियो । आइतबार संवादको तयारी गर्दै थिएँ । त्यहाँको प्रजिअ सरुवा भएर सोही दिन मन्त्रालयमा हाजिर हुनुभयो र दाङमा आउने प्रजिअ भोलिपल्ट अर्थात् सोमबार मात्र हाजिर हुने भएकाले जिल्ला प्रजिअविहीनको अवस्था थियो । त्यहाँका सहायक प्रजिअ चिरञ्जीवी रानासँग सम्पर्क भयो । उहाँले भन्नुभयो, ‘मैले थाहा पाएका कुरा भनेर हुने भए भनिदिन्छु नि !’ भन्दै उहाँ नेपालखोजसँग संवादका लागि तयार हुनुभयो । यो अवस्थामा मैले प्रजिअसँग मात्रै कुराकानी गरिने कार्यक्रमको ढाँचा परिवर्तन गरेँ । सहायक प्रजिअ चिरञ्जीवी रानासँग संवाद गरें । उहाँ निकै शालिन र अनुभवी भएको हुँदा पनि संवाद रोचक रह्यो । केही समय पछि चिरञ्जीवी राना म्याग्दीको प्रजिअका रूपमा सरुवा भएर जानुभएको थियो ।

अन्त्यमा, ‘प्रजिअसँग शम्भु’ विभिन्न जिल्लाको शान्ति सुरक्षासँग, प्रजिअहरूको अनुभव र कार्यसम्पादनसँग पनि जोडिएको कार्यक्रम भएकाले आमसर्वसाधारण, नेपालखोजका पाठकहरूको मायाप्रति म कृतघ्न छु । साथै सल्लाह, सुझाव अनि प्रतिक्रियाका लागि भने धन्यवाद। सबै प्रमुख जिल्ला अधिकारी तथा नेपालखोजका पाठकहरूप्रति नमन !

‘प्रजिअसँग शम्भु’ का सबै अंकहरू पढ्न तथा सुन्न छुटाएको भए हेर्नुहोस् ।

छविलाल रिजाल, प्रजिअ, झापा – ‘संविधानले परिकल्पना गरेको कुरा कार्यान्वयन गर्ने भनेकै कर्मचारी संयन्त्रले हो’

सीता परियार, प्रजिअ, हुम्ला – ‘निजामती क्षेत्रमा रहेर काम गर्दा जुन आत्मसन्तुष्टि मिल्छ त्यो अन्त नमिल्न सक्छ’

वेदनिधि खनाल, प्रजिअ, सिन्धुपाल्चोक – ‘पूर्वानुमान नभएको सरुवा प्रणालीले निजामती सेवामा नकारात्मक असर परेको छ’

सुशील वैद्य, प्रजिअ, लमजुङ – ‘नागरिकले झन्झटबिनै छिटो-छरितो सेवा पाउनुपर्छ, यो उनीहरूको अधिकार हो’

इन्द्रदेव यादव, प्रजिअ, सुनसरी – ‘निजामती सेवा राज्य सञ्चालनको मेरुदण्ड हो’

नवराज सापकोटा, प्रजिअ, रोल्पा – ‘आएका सेवाग्राहीलाई ५ बज्यो भन्दैमा कार्यालयबाट फर्काउँदिनँ’

सूर्यबहादुर खत्री, प्रजिअ, बाँके – ‘बजारका दक्ष जनशक्तिलाई निजामती सेवाले आकर्षित गर्न सकेको छैन’

धर्मेन्द्रकुमार मिश्र, प्रजिअ, कपिलवस्तु – ‘निजामती सेवामा एउटै वर्ग र समुदायको मात्र प्रवेश गर्ने परम्परा तोडिएको छ’

अस्मान तामाङ, प्रजिअ, चितवन – ‘निजामती सेवा मुलुकको स्थायी सरकार हो’

शशिधर घिमिरे, प्रजिअ, अर्घाखाँची – ‘सार्वजनिक सेवा प्रवाह सबैको साझा प्रयासले भरोसा योग्न बनाउनुपर्छ’

परमानन्द घिमिरे, प्रजिअ, रुकुम पश्चिम – ‘निजामतीतर्फ आकर्षण बढेकै छ, घटेको छैन’

दीपककुमार पहाडी, प्रजिअ, रामेछाप – ‘जहाँ निष्पक्ष परीक्षा हुन्छ त्यहाँ आकर्षण हुन्छ, जहाँ हुँदैन तब सोर्सफोर्सको कुरा आउँछ’

भरतमणि पाण्डे, प्रजिअ, मकवानपुर – ‘निजामती सेवा भनेको देशको स्थायी संरचना हो’

हुमकला पाण्डे, प्रजिअ, काभ्रे – ‘जनताका आधारभूत सेवा पूरा गर्न पाउँदा खुसी लाग्छ’

नूरहरि खतिवडा, प्रजिअ, संखुवासभा – ‘सेवाग्राहीका गुनासालाई सहज रुपमा लिन्छु, समस्या समाधानमा समन्वय गरिदिन्छु’

माधवप्रसाद ढुंगाना, प्रजिअ, इलाम – ‘हुने काम हुन्छ, नहुने काम यो कारणले हुँदैन भन्छु’

चिरञ्जीवी राना, प्रजिअ, म्याग्दी – ‘सेवाग्राही आउनेबित्तिकै गुनासो सुनेर समस्या सम्बोधन गर्छौं’

काशीराज दाहाल, प्रजिअ, मोरङ – ‘प्रभावकारी सेवाप्रवाह गर्न कर्मचारीले आफ्नो जिम्मेवारी र दायित्व बिर्सिनु हुँदैन’

कृष्णबहादुर शाही, प्रजिअ, रौतहट – ‘गाउँबाट आउने शिक्षितवर्गको पहिलो रोजाइ नै निजामती सेवा’

बाबुराम अर्याल, प्रजिअ, बाजुरा – ‘एकाधबाहेक सबै समस्या समाधान गरेको छु’

रोमबहादुर महत, प्रजिअ, मुगु – ‘आमजनताको उत्तम विकल्प लोकसेवा आयोग’

नेत्रप्रसाद शर्मा (पौडेल), प्रजिअ, मुस्ताङ – ‘लोकसेवा आयोगको पद्धतिमा कानुन र सुशासनको पालना गरिन्छ’

थानेश्वर गौतम, प्रजिअ, सर्लाही – ‘निजामती राष्ट्रसेवकमा शासक होइन सेवककै भावना हुनुपर्छ’

विजयाकुमारी प्रसाई, प्रजिअ, जुम्ला – ‘स्रोत-साधन एकदमै थोरै, जनताका अपेक्षा धेरै’

किरण थापा, प्रजिअ, कैलाली – ‘निजामती सेवा फराकिलो क्षेत्र हो, गर्छु भन्नेलाई देखाउने ठाउँ पनि छ’

कृष्णप्रसाद लम्साल, प्रजिअ, धादिङ – ‘मुलुकको सेवा गर्नुपर्छ भन्ने सोचले निजामतीतर्फ लाग्ने प्रेरणा मिल्यो’

शंकरबहादुर विष्ट, प्रजिअ, डोटी – ‘सेवाग्राहीले नतिजा खोज्छ, हामी प्रक्रिया फलो गर्छौं’

दिलकुमार तामाङ, प्रजिअ, ओखलढुंगा – ‘सार्वजनिक प्रशासनको मियो नै निजामती सेवा हो’

नवराज जैशी, प्रजिअ, रसुवा – ‘अनुभव पढेर होइन गरेर आफैं पाइने कुरा हो’

कृष्णबहादुर कटुवाल, प्रजिअ, बारा – ‘हामी जनताकै छोरा हौं, जनताले दु:ख नपाउने गरी काम गर्नुपर्छ’

खिमराज भुसाल, प्रजिअ, प्युठान – ‘जनतालाई सेवा गर्ने उपयुक्त अवसर’

सिद्धराज जोशी, प्रजिअ, दार्चुला – ‘जनता नै जनार्दन हुन् भन्ने भावना राखेर काम गर्नुपर्छ’

गोपालकुमार अधिकारी, प्रजिअ, बाजुरा – ‘चाँडो-चाँडो सरुवा, फाइदाभन्दा हानि धेरै’

फणीन्द्र दाहाल, प्रजिअ, खोटाङ – ‘निजामती प्रणालीका केन्द्रविन्दु भनेकै जनता हुन्’

जगन्नाथ पन्त, प्रजिअ, पाल्पा – ‘सेवाग्राहीको चाप हुने अड्डामा कर्मचारी थोरै छन्’

रुद्रबहादुर मल्ल, प्रजिअ, अछाम – ‘कानुन छाडेर काम गर्दैनौं’

अनोजकुमार घिमिरे, प्रजिअ, तेह्रथुम – ‘नागरिकको खुसी नै हाम्रो खुसी हो’

रमेश न्यौपाने, प्रजिअ, सिन्धुली – ‘नीति-नियम र प्रक्रियालाई आधार मानेर काम गर्छु’

हरि प्याकुरेल, प्रजिअ, दैलेख – ‘लोकसेवाको छनोट प्रक्रिया एकदमै उत्कृष्ट’

मनमाया भट्टराई पंगेनी, प्रजिअ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) – ‘सेवाग्राहीको माया मेरो आशीर्वाद’

टेकराज निरौला, प्रजिअ, दोलखा – ‘नोकरी गर्नेलाई निजामती सेवा आकर्षणको प्रमुख थलो’

उमेशकुमार ढकाल, प्रजिअ, पर्सा – ‘जनताको समस्या सुन्ने पहिलो काम प्रजिअकै हो’

गणेशविक्रम शाही, प्रजिअ, सोलुखुम्बु – ‘आफूले बनाएको योजना आफैं सम्पादन गर्न पाए नतिजा पनि उत्कृष्ट आउँछ’

लक्ष्मीप्रसाद बास्कोटा, प्रजिअ, रुकुम पूर्व – ‘निजामती सेवामा आकर्षणको दायरा बढेको छ’

देवी पाण्डे खत्री, प्रजिअ, पर्वत – ‘निजी क्षेत्रको पीडा निजामतीमा छैन’

तीर्थराज भट्टराई, प्रजिअ, महोत्तरी – ‘बढुवाको अनुभव छैन, लेखेरै यहाँसम्म पुगें’

कृष्णप्रसाद भण्डारी, प्रजिअ, भोजपुर – ‘छिटो–छिटो सरुवाले कार्यसम्पादनमा असर त पर्छ नि’

सन्तबहादुर सुनार, प्रजिअ, बर्दिया ‘हाम्रोपालामा लोकसेवाको गुरु भनेकै रेडियो’

कृष्णप्रसाद आचार्य, प्रजिअ, कालीकोट – ‘पेसाको गौरव आफैंले बढाउनुपर्छ’

राजेन्द्रदेव पाण्डे, प्रजिअ, बैतडी ‘सेवाग्राहीको समस्या बुझ्न लाइनमै पुग्छु’

ढुण्डीप्रसाद निरौला, प्रजिअ,  ललितपुर – ‘कानुनसम्मत कामका लागि भनसुन गर्नै पर्दैन’

रुद्रादेवी शर्मा, प्रजिअ, गुल्मी – ‘निजामती कर्मचारी सबैको स्वभाव त एउटै हुँदैन नि !’

माधवप्रसाद ढकाल, प्रजिअ, डोल्पा – ‘सेवाग्राहीको मुस्कानले काममा थप ऊर्जा मिल्छ’

सिद्धराज जोशी, प्रजिअ, दार्चुला – ‘जति काम गरें इमानदारपूर्वक गरें’

जीवनप्रसाद दुलाल, प्रजिअ, नुवाकाेट – ‘आफूले गरेका कार्यसम्पादनबाट सन्तुष्ट छु’

दीपकराज नेपाल, प्रजिअ, स्याङ्जा – ‘कहिलेकाहीँ कर्मचारीले जजमेन्टल डिसिजन गर्नुपर्ने हुन्छ’

प्रदीपराज कँणेल, प्रजिअ, सिरहा – ‘सुरुमा प्रहरी बन्ने इच्छा थियो पछि निजामतीमा आएँ’

उमेश पाण्डे, प्रजिअ, ताप्लेजुङ – ‘ताप्लेजुङमा अक्सिजन सिलिन्डरको अभाव छैन’

रामकुमार महतो, प्रजिअ, कञ्चनपुर – ‘सेवा प्रवाहमा व्यक्तिको स्वभावले पनि प्रभाव पार्छ’

छविलाल रिजाल, प्रजिअ, सुर्खेत – ‘धेरै विकल्प नसोची निजामती सेवामै आएँ’

प्रेमप्रसाद देवकोटा, प्रजिअ, जाजरकाेट – ‘जिल्ला प्रशासन कार्यालयप्रति जनताको एक्स्पेक्टेसन हाई हुन्छ’

चिरञ्जीवी राना, सहायक प्रजिअ, दाङ – ‘जनतालाई सेवा दिने उद्देश्यले निजामती सेवामा प्रवेश गरें’

सागर आचार्य, प्रजिअ, तनहुँ – ‘नियम-कानुन छाड्दैनौं, राजनीतिक दबाबले कार्यसम्पादनमा अप्ठ्यारो परेको छैन’

विष्णु लामिछाने, प्रजिअ, मनाङ – ‘दाजुको प्रेरणाले निजामतीतर्फ आएँ, जनताकै सेवामा रमाएको छु’

ईश्वरीप्रसाद ढकाल, प्रजिअ, रसुवा – ‘सेवाप्रवाह छिटो-छरितो र चुस्त बनाएको छु’

पुण्यप्रसाद ढकाल, प्रजिअ, पाँचथर – ‘निजामती सेवाप्रति सन्तुष्ट मात्र होइन गौरव पनि गर्छु’

हरिप्रसाद घिमिरे, प्रजिअ,  डडेलधुरा – ‘प्रशासन भनेको आशाको धरोहर हो’

जयनारायण आचार्य, प्रजिअ,  सप्तरी – ‘सेवाप्रवाह सहज बनाउन आफैं खटिन्छु’

लक्ष्मीदेवी होमागाईं खतिवडा, प्रजिअ,  सल्यान – ‘सेवाग्राहीलाई सन्तुष्टि दिने गरी सेवा प्रवाहको व्यवस्था मिलाइएको छ’

बन्धुप्रसाद बास्तोला, प्रजिअ, धनुषा – सेवाग्राहीका समस्या समाधानमा ‘डेडिकेटेड’ छु

शम्भु रेग्मी

शम्भु रेग्मी नेपालखाेज डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया