शनिबार, वैशाख ८, २०८१

द्रौपदी म आऊँ ?

हेमन्त गिरी २०७८ कार्तिक ६ गते १०:१२

दुई टुक्रामा फुटे पनि फुट्नु नै हो
पाँच हिस्सामा बाँडिए पनि बाँडिनु नै हो
तिमीलाई बाँडिने बानी परेको छ,
म एउटा थपिंदा के फरक पर्छ र ?
द्रौपदी, म आऊँ ?!

एक बिसौलीले च्याँपिए पनि च्याँपिनु नै हो
सय धार्नीले थिचे पनि थिचिनु नै हो
तिमीलाई तल पर्ने बानी परेको छ
म एक शरीर थपिंदा के हुन्छ र ?
द्रौपदी, म आऊँ ?

शासनले वा दुस्सासनले
युगौं देखि फुकाइरहेछ तिम्रो सारी !
दयाले वा मायाले कुनै वासुदेवले
पुस्तौं देखि जोगाइरहेछ तिम्रो लाज !
दिइएको छैन तिमीलाई
आफ्नो सारी आफ्नै हातले फुकाउन !
अनि
आफ्नो लाज आफ्नै वस्त्रले लुकाउन !
के फरक पर्छ र यज्ञासनी
म एउटा धृतपुत्र थपिंदा,
यी औंलाहरुमा मायावी चक्र बोकेर आऊँ ?!

पांचालको भरी सभामा
तिम्रो सट्टेबाजी चलिरहँदा ऊ बेला
लामबद्ध थिए अर्जुनहरु वाण र धनुष बोकेर !
मदिराका होडिङ बोर्डहरुमा
मदमत्त तिमी छापिइरहँदा
लामवद्ध छन आज पनि दुर्जनहरु
सर्वकालीन प्यास र हवश बोकेर !
के फरक पर्छ र पांचाली,
म एउटा शासकलिंग थपिंदा ?
लेखूँ एउटा नारीवादी कविता

सहानुभूतिको कलम बोकेर आऊँ ?

किन झन माथि सार्दा
झन तल झरिरहन्छ तिम्रो सारी मेलापर्वहरुमा ?
किन बेमतलबले
उध्रिरहन्छ तिम्रो चोली काँचका पर्दाहरुमा ?!
के तिमी यो पूँजीबजारकी गान्धारी हौ ?!

खोइ त तिमीले आफूलाई हेरेको ?
खोइ त तिमीले युगलाई फेरेको ?
तिमीले त
अर्जुनको गाण्डीव पो उठाउने यत्न गर्नुपर्थ्यो, पांचाली !
मुरारीको सुदर्शन घुमाउने शाहस पाल्नुपर्थ्यो, मालिनी !
किन नाघ्ने हिम्मत सम्म गर्न सकेकी छैनौ आजसम्म तिमीले
कुन्तीका निर्मम आदेश र फरमान, पंचमणी ?!

सक्दिनौ भने त हे नित्यायुवनी,
हरेक युगको महाभारतमा
हजार पानाको सारी यसैगरी फुकिरहनेछ !
हरेक समयको कुरूक्षेत्रमा
एक थान निर्वस्त्र नारी यसैगरी दुखिरहनेछ !!

कम्तिमा
एक दिनको लागि त सूचना टाँसिदेऊ
तिम्रो चोकको चियापसलमा-

“कौरवहरु बाट म आफै जोगिनेछु,
पाण्डवहरुलाई प्रवेश निषेध छ !”

प्रतिक्रिया