शनिबार, वैशाख २९, २०८१

मौन अवधि

छविलाल खड्का २०७९ वैशाख २४ गते १०:१३

पाँचवर्षे सन्नाटा तोड्दै गाउँ हाँसेको थियो । निरन्तर भोज-भतेर चलिरहेका थिए । साँच्ची गाउँ समृद्ध भएको आभाष हुन्थ्यो ।

जुठे निकै खुसी थियो । कहिले ‘क’ को भोजमा जान्थ्यो मासु भात खान्थ्यो । कहिले ‘ख’ को भोजमा जान्थ्यो सुँगुर र ठर्रा तान्थ्यो । न भोक न भकारी । दिन उसैका थिए । मनमनै भगवानसँग पुकार्थ्यो- ‘सधैं चुनाव आओस् ।’ उसले आफ्नो भोट ठर्रा र मासु-भातसँग साटेको थियो ।

जुठेको छिमेकी नरनारायण थियो । ऊ न जुलुसमा गयो न मासु-भात र ठर्रा तान्न पुग्यो । उसको बुद्धि देखेर जुठेले खुब उडायो ।

भोलि मतदान गर्ने दिन । आज साँझ नरनारायणका घरमा ‘क’ र ‘ख’ का नेता कार्यकर्ता आलोपालो आवतजावत गरेको देखियो । उसलाई खुच्चिङ गर्न मन लागेर ऊ बिरालोको चालमा उसको घर पुग्यो । त्यहाँ अनौठो दृश्य देखियो । नरनारायण भने हजार हजारका गड्डी समाएर तामा-तुलसी छुँदै थियो । रगत हात गर्दै थियो ।

बाहिर कोही होहल्ला गर्दै थिए । कार्यकर्ता हतार-हतार निस्कँदै भने- ‘प्रचार-प्रसार गर्न मिल्दैन । यो मौन अवधि हो क्या !’

प्रतिक्रिया