नेपालमा सक्रिय संक्रमितको संख्या १० हजारमा झर्‍यो

नेपालखोज २०७८ कार्तिक ६ गते १७:०७

काठमाडौं । नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या १० हजारमा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हाल सक्रिय संक्रमितको संख्या १० हजार ५५९ मा झरेको छ ।

नेपालमा गत चौबीस घण्टामा ५१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ९७२ जनाको पीसीआर परीक्षणमा ४३८ र १ हजार ९५९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७५ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख ८ हजार ५३४ र एन्टीजेन विधिबाट ९३ हजार ९८० पुगेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप ८१७ जना कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ७ लाख ८६ हजार ६३० पुगेको छ । निको हुने दर ९७ दशमलब ३ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै, चौबीस घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाका कारण नेपालमा मृत्यु हुनेको कुल संख्या ११ हजार ३४५ पुगेको छ ।

प्रतिक्रिया